प्यूठान : लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले बाग्दुला–मच्छी सडकखण्ड अन्तर्गत बाग्दुला–बतासेडाँडा खण्डमा सुरु भएको सडक स्तरोन्नति तथा कालोपत्रे कार्यको अनुगमन तथा निरीक्षण गरेका छन् ।
बिहीबार अनुगमनका क्रममा मन्त्री थापाले निर्माण कार्यको प्रारम्भिक प्रगति, गुणस्तर सुनिश्चितता तथा तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्ने विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिएका छन् । उक्त सडक स्तरोन्नति तथा कालोपत्रका लागि मन्त्री थापाकै पहलमा प्रदेश र केन्द्र सरकारको समपुरक बजेटमार्फत स्रोत व्यवस्थापन गरिएको हो ।
चार किलोमिटर तीन सय मिटर लम्बाइमा निर्माण हुने यो सडक नालीको भाग बाहेक ७ मिटर चौडाइमा कालोपत्रे गरिने छ। कुल १५ करोड ३३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको यस परियोजनाको जिम्मा आशु हरियाली जेभीले पाएको छ भने निर्माण सम्पन्न गर्न २ वर्षको समयसीमा निर्धारण गरिएको छ ।
यस परियोजनामा प्यूठान जिल्लामै पहिलो पटक आन्तरिक हाईवे स्तरको सडक कालोपत्रका लागि ‘अस्फाल्ड प्रविधि’ प्रयोगमा ल्याइएको निर्माण पक्षले जनाएको छ। (अस्फाल्ड प्रविधि भन्नाले आधुनिक किसिमको कालोपत्र विधि हो, जसमा बिटुमिन (डामर) र अन्य सामग्रीको मिश्रण प्रयोग गरी सडकलाई मजबुत, चिल्लो र दीर्घकालीन बनाइन्छ ।)
निर्माण व्यवसायी बालाजु श्रेष्ठले सम्झौता अवधि अगावै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन्। समयमै काम सम्पन्न गर्ने क्षमताका कारण परिचित श्रेष्ठले यसअघि पनि निर्धारित समयभन्दा अघि योजना सम्पन्न गर्दै बोनस प्राप्त गरेका उदाहरणहरू प्रस्तुत गरिसकेका छन् ।
यसैगरी, बतासेडाँडा–मच्छी सडकखण्ड अन्तर्गत झिमरुक गाउँपालिकाको पहुँच मार्गमा पर्ने खण्डको कालोपत्रेका लागि झिमरुक गाउँपालिका र हरियाली स्वर्गद्वारी महाप्रभु ओसियन जेभीबीच सम्झौता भइसकेको छ। गाउँपालिकाले निर्माण कार्य छिट्टै सुरु हुने पालिका प्रमुख पित बहादुर महतरा क्षेत्रीले जानकारी गराए ।
जिल्लाकै पुरानो सडक भए पनि हालसम्म स्तरोन्नति तथा कालोपत्र नहुँदा झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाका स्थानीयवासीले वर्षायाममा हिलो र सुख्खा मौसममा धुलोका कारण सास्ती भोग्दै आएका छन् । सडक स्तरोन्नति सुरु भएसँगै स्थानीय बासिन्दामा सहज आवागमनप्रति आशा जागेको छ । मन्त्री राणाले मच्छी–पिडाल्ने पुल, कुटिचौर किटघाट पुल र दोमै पक्की पुलको समेत अनुगमन गरेका छन् ।