प्यूठान : उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशको मुख्य आयोजनामा र घरेलु तथा साना उद्योग विकास कार्यालय प्यूठानको सहजीकरणमा सोमबार जुम्रीस्थित होटल आयुष्मामा आयोजना गरिएको बृहत् अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुको गुनासोले भरिएको देखिएको छ । कार्यक्रममा सहभागी अधिकांश व्यवसायी तथा किसानहरूले राज्यका नीति, अनुदान वितरण प्रणाली, तालिम सञ्चालन र प्रविधिगत कमजोरीप्रति असन्तुष्टि व्यक्त गरे ।
प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले अहिले व्यवसायीहरू “व्यवसाय राख्ने कि बन्द गर्ने” भन्ने अन्योलपूर्ण अवस्थामा रहेको उल्लेख गरे। उनले घरेलु कार्यालयका तालिमहरू एउटै स्थानमा केन्द्रित हुनु गलत भएको बताउँदै बस्ती–केन्द्रित र आवासीय तालिमको आवश्यकता औंल्याए। “एउटै ठाउँमा धेरैलाई तालिम दिँदा प्रभाव देखिँदैन, बरु गाउँ–गाउँमा एकजनालाई दक्ष बनाउँदा वास्तविक उद्यमी तयार हुन्छ।” उनले भने।
आचार्यले प्यूठानको भूगोल अनुसार क्रसर, फर्निचर, जडीबुटी र नेपाली कागज उद्योगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। साथै, उद्योग सञ्चालनमा रहेका कानुनी जटिलता हटाई उद्योगमैत्री नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसले बाह्य लगानी भित्र्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष लिलाधर न्यौपानेले जिल्लामा पर्यटनको ठूलो सम्भावना रहेको बताउँदै पर्यटन सम्बन्धी सीपमूलक तालिमको अभाव रहेको गुनासो गरे। “यहाँका होटल व्यवसायीहरू नै पर्यटनका मुख्य आधार हुन्, तर उनीहरूलाई आवश्यक तालिम पुगेको छैन।” उनले बताए।
स्थानीय किसानहरूले पनि अनुदान वितरणमा असमानता भएको आरोप लगाए। प्यूठान नगरपालिका–४ का लोकल पोल्ट्री किसान टंक थापाले आफूले वर्षौंदेखि कुखुरा पालन गर्दै आए पनि कुनै सहयोग नपाएको गुनासो गरे। “हाकिमका नजिक हुनेले सबै सुविधा पाउँछन्, हामीजस्ता वास्तविक किसान वञ्चित छौं,” उनले भने।
त्यस्तै, प्यूठान नगरपालिका –३ का आइसक्रिम उद्योगी शिव बहादुर पुलामीले १४ वर्षदेखि उद्योग सञ्चालन गर्दा पनि कुनै सरकारी सहयोग नपाएको बताए। उनले अनुदान वितरणमा पारदर्शिता नभएको उल्लेख गर्दै उदाहरण दिए, “जसलाई आवश्यक छैन उसले फ्रिज पाएको छ, मैले त्यही फ्रिज आधा मूल्यमा किन्नुप¥यो ।”
चिस्यान केन्द्रहरूको अवस्था पनि चिन्ताजनक रहेको सहभागीहरूले बताए। उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा तरकारी तथा फलफूल व्यवसायी टुकलाल न्यौपानेका अनुसार जिल्लाका चिस्यान केन्द्रहरू प्रयोगविहीन अवस्थामा छन्। “आलु राख्दा समेत जरा उम्रिन्छ, प्रविधि नै कमजोर छ,” उनले भने।
कार्यक्रममा उद्योगसम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनका विषयमा शाखा अधिकृत सन्तोष कुमार सुवेदीले सहजीकरण गरेका थिए भने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लोकराज थापाले सेवा प्रवाहबारे जानकारी दिएका थिए। जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले उद्योग व्यवसायको नियमित अनुगमन भईरहेको बताए।
घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी चम्पक श्रेष्ठका अनुसार पछिल्लो तीन वर्षदेखि अनुदान कार्यक्रमहरू आएको छैन। उनले एउटै व्यक्तिले विभिन्न निकायबाट समान प्रकृतिका अनुदान पाउने समस्या रहेको स्वीकार गर्दै निकायबीच समन्वय अभाव रहेको संकेत गरे।
श्रेष्ठका अनुसार सीटीभीटीमार्फत लेभल–१ का सीप परीक्षणसहित मोबाइल मर्मत, जनरल कुक र ब्युटिसियन तालिम सञ्चालन गरिएको छ भने शैलुन र नेपाली हाते कागजसम्बन्धी तालिम पनि विभिन्न स्थानमा सम्पन्न भएका छन्।
अन्तरक्रिया कार्यक्रमले प्यूठानका उद्योगी–व्यवसायीहरू नीति, तालिम, प्रविधि र अनुदान व्यवस्थामा गम्भीर सुधारको अपेक्षा राखिरहेका छन् भन्ने स्पष्ट देखाएको छ। गुनासो मात्र नभई समाधानमुखी पहल तत्काल आवश्यक रहेको सहभागीहरूको जोड थियो।