प्यूठान : प्यूठान अस्पतालमा आजदेखि औपचारिक रूपमा डायलासिस सेवा सुरु गरिएको छ । सेवा सुरु भएसँगै प्यूठान नगरपालिका – २ का ५२ वर्षीय पहलमान बिष्टको पहिलोपटक डायलासिस गरिएको छ । यसअघि बुटवलमा डेरा गरी उपचार गराउँदै आएका बिष्टले अब आफ्नै जिल्लामा सेवा पाउँदा निकै सहज भएको बताए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा–सुवास पौडेलका अनुसार बिरामीको अवस्था अनुसार हप्तामा दुई पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ। सेवा सञ्चालनका लागि स्वास्थ्य सेवा विभाग अन्तर्गत नर्सिङ महाशाखामा सूचीकृत हुन आवश्यक कागजात पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
यसअघि जिल्लामै पहिलोपटक मृगौला रोगीका लागि डायलासिस सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको थियो। लायन्स क्लब अफ प्यूठानको मुख्य पहल र लगानीमा करिब १ करोड ७६ लाख रुपैयाँ लागतमा परियोजना सञ्चालन गरिएको हो, जसमा ७५ प्रतिशत लगानी क्लबले र बाँकी २५ प्रतिशत स्थानीय तहहरूले बेहोर्ने प्रतिबद्धता गरेका छन्।
हाल अस्पतालमा ८ वटा डायलासिस मेसिन तयारी अवस्थामा छन्, जसमध्ये ६ वटा (१ आपतकालीनसहित) दैनिक दुई सिफ्टमा सञ्चालन गरिनेछ भने २ वटा मेसिन ब्याक अपमा राखिने योजना बनाएको अस्पताल विकास समितिका अध्यक्ष विजय विराज बिष्टले जानकारी गराए । जिल्लामा हाल ८६ जना नियमित डायलासिस गर्नुपर्ने बिरामीहरू छन।
सेवा अभावका कारण उनीहरू लमही, बुटवल, नेपालगञ्ज र काठमाडौँसम्म पुग्न बाध्य थिए। अब भने प्यूठानमै सेवा उपलब्ध भएपछि छिमेकी रोल्पा, अर्घाखाँची र गुल्मीका बिरामीले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ।