बुटवल : प्रचलित रुपमा बोलिने शब्द ‘ठेकेदार’ अर्थात निर्माण व्यवसायी । यो शब्द सुन्दावित्तिकै धेरैले कति सजिलैसँग भन्छन्,‘ठेकेदार’हरु काम गर्दैनन्, योजनाहरु अलपत्र पार्छन् र सरकारलाई ढाँटछन्, छल्छन् । तर, यो सवै व्यवसायीमा लागु हुँदैन् । देशका कतिपय विकास निर्माणका योजनाहरु अलपत्र छन्, ती सवै ठेकेदारका कारणले मात्र छैनन् । धेरैजसो योजनाहरु सरकारकै लापरवाही र वेवास्ताले छन् ।
कतिपय ठेकेदारहरु यस्ता पनि छन्, जसले आफूले कामको जिम्मा लिन्छन् तर समयमै नगरेर वर्षौदेखि अलपत्र पारेर बदनामी कमाइरहेका छन् । तर, त्यस्ता व्यवसायीहरु पनि छन् जसले आफूले पाएको कामको सम्झौता अगावै पुरा गरेर वाहवाह ! कमाइरहेका छन् । त्यसमध्येकै एक हुन, बालाजु श्रेष्ठ ।
बालाजु प्यूठानमा जन्मिए । प्यूठानमै हुर्किए । र, प्यूठानबाटै निर्माण व्यवसायको पाइला अगाडी बढाए । आफ्नो गृह जिल्लाबाट निर्माण क्षेत्रमा लागेका उनी पश्चिम नेपालमा मात्र होइन्, देशभरमै निर्माणको क्षेत्रमा गर्विलो छबी बनाएका छन् । खराव व्यवसायीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको बेला उनी सरकारसंग गरेको सम्झौता बमोजिमको काम समय अघि नै गरेर स्याबासी कमाइरहेका छन् ।

उनकै काम गराईको तरिका र छबीले गर्दा देशभरका निर्माण व्यवसायीहरुको छबीमा समेत साथ मिलेको छ । ठेकेदारहरु योजना अलपत्र पार्नेमा मात्र सक्रिय छैनन्, सम्झौता अघि नै काम पुरा गरेर देखाउनेहरु पनि छन् भन्ने पहिचान बनेको छ ।
उनै व्यवसायी श्रेष्ठ अहिले आफ्नो व्यवसायिक छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवार छन् । आजदेखि अर्थात चैत १७ गतेदेखि महासंघको १३ औँं महाधिवेशन र २६ औं वार्षिक साधारणसभा हुँदैछ । काठमाण्डौँमा हुने अधिवेशन १९ गतेसम्म चल्ने छ ।
श्रेष्ठको महासंघको पहिलो प्रयास र यात्रा भने होइन् । उनी यसअघि महासंघकै केन्द्रीय सदस्य पदमा रहेर ०७२ सालदेखि हालसम्म निरन्तर कार्यरत छन् । महासंघको केन्द्रीय समितिमा रहेर काम गरेको उनमा प्रशस्त अनुभव छ । यही अनुभवबाट उनले महासंघको आगामी नेतृत्वमा कोषाध्यक्ष जस्तो पदको जिम्मेवारी लिएर काम गर्न चाहान्छन् । महासंघको आर्थिक सवलीकरण र देशभरका निर्माण व्यवसायीहरुको मुद्दाहरुलाई राज्सयसंग पैरवी गरेर सम्वोधन गर्न चाहान्छन् ।
श्रेष्ठ केन्द्रको निर्माण क्षेत्र मात्र होइन्, भूगोल अर्थात तल्लो तह ‘ग्रासरुट’ का व्यवसायीहरुका पिरमर्का समेत बुझेका व्यवसायी हुन् । किनकी उनको व्यवसायिक यात्रा गाउँतहबाटै शुरुवाती भयो । गाउँका कुनाकाप्चामा काम गर्ने निर्माण व्यवसायीहरुका पिडा कस्ता हुन्छन्, उनीहरुले कसरी काम गरिरहेका छन् र सरकारले उनीहरुलाई कस्तो खालको सम्वोधन गर्नुपर्छ भन्ने कुरा उनले नजिकबाट बुझेका छन् । यही कारणले पनि आफू कोषाध्यक्ष पदमा निर्वाचित भएमा देशभरका व्यवसायीहरुका पिरमर्का सम्वोधन हुनेमा उनको दृढ संकल्प छ ।
वि.सं २०३६ साल पुस १० गते जन्मिएका उनी आफ्ना गोपालप्रसाद श्रेष्ठको प्रेरणाबाट यस क्षेत्रमा लागेका हुन् । उनले स्वर्गद्धारी बहुमुखी क्याम्पस विजुवार प्यूठानबाट अर्थशास्त्रमा स्नातक उत्र्तिण गरेका छन् । आर्थिकोपार्जन गर्ने नयाँ नयाँ क्षेत्र र अर्थ व्यवस्थापनलाई चुस्तदुरुस्त पार्ने काममा उनी दख्खल मानिन्छन् । प्यूठानकै कालिका विकास केन्द्र नेपालमा उनी कोषाध्यक्ष पदमा रहेर पनि काम गरे । त्यही संस्थाले संचालन गरेको डिएफआइडी अन्तर्गत आशा कार्यक्रमको समेत उनले लेखापाल भएर चार वर्षसम्म काम गरेको अनुभव छ ।
श्रेष्ठसँग प्यूठान उद्योग वाणिज्य संघको तीन वर्षसम्म कोषाध्यक्ष भएर समेत काम गरेको अनुभव छ । निर्माण व्यवसायी संघ प्यूठानको उनी सचिव समेत भए । जिल्लामा निर्माणको क्षेत्रमा उत्कृष्ट काम गरेको अनुभवकै आधारमा उनको पाइला नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रमा अघि बढ्यो ।
श्रेष्ठले २०६० पुस १० गते सालमा आँशु निर्माण सेवा कम्पनी स्थापना गरेर हालसम्म निरन्तर संचालन गरिरहेका छन् । दर्जनौं संख्यामा पक्कीपुल सहित सडक, गाउँपालिका, नगरपालिकाका प्रशासनिक भवन, विभिन्न स्वास्थ्यचौकीहरु लगायत निर्माण क्षेत्रमा उनले समयमै काम गरेर देशभरमै ख्याती कमाउने व्यवसायीभित्र पर्छन् ।