प्यूठान : दिगो फोहोर व्यवस्थापनतर्फ प्रतिबद्धता जनाउँदै आए पनि प्यूठान नगरपालिकाले व्यवहारमा प्रभावकारी काम गर्न नसकेको देखिएको छ । कुहिने फोहोरबाट मल उत्पादन र कवाडी सामग्री बिक्रीमार्फत आम्दानी गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै पनि नगरपालिका त्यसतर्फ उदासीन देखिएको स्थानीय सरोकारवालाहरूको गुनासो छ ।
नगरप्रमुख विष्णु योगीले दिगो फोहोर व्यवस्थापनका लागि सोँच भइरहेको बताए पनि हालसम्म अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्वीकार गरे । “हामीले योजना बनाएका छौँ, तर कार्यान्वयन पक्ष अझै कमजोर छ,” उनले भने ।
पूर्व नगरप्रमुख अर्जुनकुमार कक्षपतिले वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै नगरपालिकाले फोहोर व्यवस्थापनमा हेलचक्रयाइँ गरेको आरोप लगाए । उनका अनुसार अहिले भइरहेको व्यवस्थापनले वातावरण र मानव स्वास्थ्यमा समेत जोखिम बढाइरहेको छ । “हामीले शुरु गरेका केही कामबाहेक थप प्रगति हुन सकेको छैन,” उनले भने ।
प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले फोहोर वर्गीकरण गरी दिगो व्यवस्थापन गर्नु अहिलेको अपरिहार्य आवश्यकता भएको बताए । “फोहोर छुट्याएर व्यवस्थापन गर्ने प्रणाली नहुँदा समस्या जटिल बन्दै गएको छ,” उनले उल्लेख गरे।
हाल नगरपालिकाभित्र फोहोर संकलनको काम मात्र भइरहेको छ भने व्यवस्थापन पक्ष प्रभावकारी बन्न सकेको छैन। वडा नम्बर ४ अन्तर्गत झिमरुक नदी किनार तथा आवासीय क्षेत्र नजिकै, नगरपालिकाको कार्यालयभन्दा तलतिर, निजी तथा केही सार्वजनिक जग्गामा फोहोर थुपार्ने गरिएको छ। यसले नदी र आसपासको वातावरणमा दीर्घकालीन असर गर्ने स्थानीयहरुले चिन्ता व्यक्त गरे।
नगरपालिकाले बजार क्षेत्रबाट मासिक दुई सय रुपैयाँ शुल्क उठाउँदै आएको भए पनि त्यसको समुचित प्रयोग र दिगो व्यवस्थापनमा कमजोरी देखिएको छ। फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी पुनःप्रयोग र आम्दानीको माध्यम बनाउन सफल अन्य स्थानीय तहबाट सिक्ने अवसर हुँदाहुँदै पनि प्यूठान नगरपालिका पछाडि परेको आरोप लाग्दै आएको छ।
स्थानीयहरूका अनुसार अब नगरपालिकाले केवल संकलनमा सीमित नभई दिगो व्यवस्थापन, पुनर्चक्रण तथा “फोहोरलाई मोहरमा बदल्ने” व्यवहारिक योजना तत्काल लागू गर्नुपर्ने आवश्यकता देखिएको छ। अन्यथा, वातावरणीय जोखिमसँगै आर्थिक अवसर पनि गुम्दै गएको देखिन्छ।