प्यूठान : जिल्ला अस्पताल प्यूठानको अवस्थाबारे हालै निर्वाचित प्रतिनिधिसभा सदस्य सुशान्त वैदिकले दिएको अभिव्यक्तिप्रति प्रश्न उठ्न थालेको छ । अस्पताल प्रशासन तथा सरोकारवालाहरूका अनुसार वैदिकले अस्पतालको वर्तमान अवस्था र सेवा क्षमताबारे पर्याप्त जानकारी नलिई सार्वजनिक रूपमा धारणा व्यक्त गर्दा भ्रम फैलिएको हो । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई दिएको विकासका मागपत्रमा प्यूठान अस्पतालबाट हालैमात्रै काम गर्न नसकेर डाक्टरले राजीनामा दिएको उल्लेख गरेका थिए ।
अस्पताल विकास समितिका अध्यक्ष विजय विराज बिष्टले प्यूठान अस्पतालमा हाल सात जना विषेशज्ञ डाक्टरहरू कार्यरत रहेको स्पष्ट पारेका छन् । उनका अनुसार अस्पतालमा विभिन्न आधारभूत तथा विषेशज्ञ सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् भने पछिल्लो समय सेवा विस्तारलाई थप प्राथमिकता दिइएको छ ।
अस्पतालमा हेमोडायलासिस सेवा समेत सञ्चालनमा आइसकेको छ, जसले मृगौला सम्बन्धी दीर्घरोगी बिरामीहरूलाई ठूलो राहत पु¥याएको छ । यसअघि यस्ता बिरामीहरूले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो । अहिले भने स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा समय र खर्च दुवै बचत भएको अस्पताल प्रशासनको भनाई छ ।
बिष्टका अनुसार प्यूठान अस्पताललाई क्रमशः ‘हब अस्पताल’को रूपमा विकास गरिँदै छ । सेवा विस्तार, उपकरण व्यवस्थापन तथा जनशक्ति सुदृढीकरणका कामहरूमा लुम्बिनी प्रदेश सरकारले सहयोग गर्दै आइरहेको छ । तर वैदिक निर्वाचित भइसकेपछि अस्पतालको थप स्तरोन्नतिका लागि कुनै ठोस पहल नगरेको आरोप पनि बिष्टले लगाए ।
‘अस्पतालबारे सही र यथार्थ सूचना लिएर मात्र प्रतिक्रिया दिनुपर्छ’, अध्यक्ष बिष्टले भने, ‘जनप्रतिनिधिहरूले जिम्मेवार अभिव्यक्ति दिनु आवश्यक छ, अन्यथा यसले जनस्तरमा भ्रम सिर्जना गर्छ ।’
यसै बीच अस्पतालमा हालै डाक्टरले राजीनामा दिएको बारे आफूलाई अस्पताल प्रशासनलाई थाहा नभएको उनले बताए । ‘बेतुकमा अफवा फैलाइएको छ’, बिष्टले भने ।
प्यूठान अस्पतालमा सेवा विस्तारको क्रम जारी रहेको छ । सोमबार अस्पतालमा स्थापना गरिएको विशेष न्यूरोवर्न केयर युनिट (एसएनसियु) तथा हेमोडायलासिस सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उद्घाटन गरेका छन् ।
नवस्थापित सेवाले अस्वस्थ तथा समयअघि जन्मिएका नवजात शिशुहरूको उपचारमा सुधार ल्याउने र नवजात मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । त्यस्तै, हेमोडायलासिस सेवा सञ्चालनमा आएसँगै मृगौला रोगीहरूलाई स्थानीय स्तरमै उपचार पाउने वातावरण बनेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलले जानकारी दिए ।