प्यूठान : जिल्लामा बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालालाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यविधिले तोकेअनुसार जिल्लाका ९ वटै स्थानीय तहका उपप्रमुख, सामाजिक विकास संयोजक तथा महिला शाखा प्रमुखहरुलाई आमन्त्रण गरिएको थियो । कार्यालय प्रमुख रामकरण पालका अनुसार सहभागिता सुनिश्चित गर्न दुई पटकसम्म फोन सम्पर्क तथा पत्राचारसमेत गरिएको थियो ।
तर, कार्यक्रममा ऐरावती, झिमरुक र नौबहिनी गाउँपालिकाका प्रतिनिधिहरुको उपस्थिति हुन सकेन। साथै, बालविवाह न्यूनीकरणमा प्रत्यक्ष सरोकार राख्ने बालबालिकाहरुलाई कार्यक्रममा सहभागी नगराइएकोप्रति पनि प्रश्न उठेको छ ।
कार्यक्रममा सहजीकरण गरेका नेपाल पत्रकार महासंघ प्यूठान शाखाका पूर्व अध्यक्ष सञ्जय रिजालले महत्त्वपूर्ण कार्यक्रममा सबै स्थानीय तहबाट प्रतिनिधित्व नहुनु जनप्रतिनिधिहरुको गम्भीरता अभावको संकेत भएको बताए। उनका अनुसार बालविवाह न्यूनीकरणका लागि सबैभन्दा नजिकका स्टेकहोल्डर नै स्थानीय तह र जनप्रतिनिधि हुन् ।
रिजालले यस्ता अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरुले पूरा समय नदिने समस्या विगतदेखि नै दोहोरिँदै आएको अनुभव पनि सुनाए । जिल्लाको स्वास्थ्यसम्बन्धी तथ्यांकलाई आधार मान्दा प्यूठानमा स्वर्गद्वारी नगरपालिका, गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकामा बालविवाहको दर तुलनात्मक रूपमा बढी रहेको देखिएको छ। यद्यपि, यस समस्यालाई नियन्त्रण गर्न स्थानीय तहहरूले स्पष्ट रणनीतिक योजनाका साथ प्रभावकारी रूपमा काम नगरेको सरोकारवालाहरूको भनाई छ।
बालविवाहजस्तो गम्भीर सामाजिक समस्याको समाधानका लागि स्थानीय तहका जनप्रतिनिधिहरू अझ जिम्मेवार र सक्रिय बन्नुपर्ने आवश्यकता औँल्याइएको छ।