बुटवल : गर्भपतन गराउँदा बुटवलमा मृत्यु भएकी पाल्पाकी गीता पाण्डेको घटनाको छानविन गर्न नेपाल मेडिकल काउन्सिलले छानविन समिति गठन गरेको छ । काउन्सिलका सदस्य डा.सम्राट पराजुलीको संयोजकत्वमा बुधवार ६ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सदस्यमा काउन्सिलका विज्ञ एवं स्त्री तथा प्रसुतीरोग विज्ञशेषद्धय प्रा.डा.पदमराज पन्त र राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानून विज्ञ गोविन्द मरासिनी र नागरिक समाजको तर्फबाट नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे छन् । काउन्सिलका रजिष्ट्रार डा.सतिस कुमार देवले गठित छानविन समितिको बारेमा जानकारी गराएका हुन् । सम्वन्धित स्वास्थ्य संस्थामा के भएको हो ? स्थानीय प्रशासन र नेपाल प्रहरीको समन्वयमा स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन काउन्सिलमा पठाउन भनिएको छ ।
गर्भपतन गराउँदा बुटवलका तीन वटा नीजि क्लिनिकमा डुलाउँदा डुलाउँदै २९ वर्षिय पाण्डेको शनिवार मृत्यु भएको थियो । उनको शव लुम्विनी प्रादेशिक अस्पताल बुटवलको शव गृहमा राखिएको छ । घटनाको सत्यतथ्य छानविन र दोषीलाई कारवाही नहुँदासम्म शव नबुझ्ने परिवारले जनाएका छन् । प्रहरीले घटनामा संलग्न दुई जना चिकित्सक सहित पाँच जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ स्थायी घर भएकी पाण्डे रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ सुमेरुपथमा बस्दै आएकी थिइन् । उनी नेपाल रेडक्रस सोसाइटी भैरहवा शाखामा कार्यरत थिइन् ।