बुटवल : सामाजिक सञ्जाल टिकटकबाट उदाएका प्यूठानका तीन दिदिवहिनीले बुटवलमा पनि आफ्नो व्यवसाय संचालनमा ल्याएका छन् । काठमाण्डौंको नयाँ बानेश्वर चोकमा केही वर्षअघिदेखि शुरु गरेको ‘थ्री सिस्टर कलेक्सन’ लाई उनीहरुले बुटवलमा पनि शाखा विस्तार गरेका हुन् ।
बुटवल उपमहानगरपालिका–११ स्थित होराइजन चोकमा संचालन गरिएको व्यवसायको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । ‘थ्री सिस्टर कलेक्सन’ बुटवल शाखाकी संचालक यशोदा थापाकी सुपुत्री गरिष्मा थापाले रिबन काटेर उद्घाटन गरिन् ।
कलेक्सनले उद्घाटनको अवसरमा आइतवार, सोमवार र मंगलवार ग्राहकहरुलाई विशेष सहुलियतको व्यवस्था गरिएको संचालक यशोदा थापाले बताइन् । झिमरुक गाउँपालिका–३ बाँदीकोट प्यूठान निवासी तीन दिदिवहिनी यशोदा थापा, अनमिका भुसाल र पवित्रा थापाले आफूले सामाजिक सञ्जाल टिकटकमा कमाएको सामाजिक पूँजीलाई व्यवसायसँग जोडेर आत्मनिर्भरको बाटोमा अघि बढेका हुन् ।
बुटवलमा संचालन गरिएको ‘थ्री सिस्टर कलेक्सन’ मा विभिन्न डिजाइनका सारी र सुटहरु उपलव्ध हुने संचालक थापाले बताइन् । भौतिक रुपमा पसलमै पुगेर र अनलाइन मार्फत ग्राहकको घरदैलोमा सामानको डेलिभरी गरिने व्यवथा मिलाइएको उनको भनाई छ ।