प्यूठान : प्यूठानमा बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय प्यूठान र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले “सुन्दर प्यूठान–सडक सुरक्षा अभियान” सुरु गरेको छ । अभियान अन्तर्गत कडाइका साथ ट्राफिक अनुगमन कार्य अगाडि बढाइएको छ।
प्यूठान नगरपालिका–८ दम्तीस्थित बाग्दुला–बहाने सडकखण्डमा गरिएको चेकजाँचका क्रममा क्षमता भन्दा बढी यात्रु बोक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न ३६ वटा सवारी साधनबाट नियम विपरीत जडान गरिएका हुट (छत) हटाइएको छ। तीमध्ये सिंगल क्याप तथा डबल क्याप बलेरो पिकअप गाडीहरू समेत रहेका छन्।
त्यसैगरी, यात्रुलाई जोखिमपूर्ण रूपमा हुटमा राखेर यात्रा गराउने सार्वजनिक जीपहरूका हुट पनि हटाइएको प्रहरीले जनाएको छ । अभियानका क्रममा निजी तथा प्राइभेट सवारी साधनमा जडान गरिएका हुट टप हटाउनुका साथै ‘प्रेसर हर्न’ प्रयोग गर्ने सवारी साधनबाट त्यस्ता हर्न हटाइएको छ । साथै, अतिरिक्त सिटहरू निकालिएको छ भने चालकलाई असर गर्ने झल्लर, स्टिकर लगायतका सामग्री पनि हटाइएको छ ।
यसै क्रममा ट्राफिक नियम विपरीत जडान गरिएका अतिरिक्त बत्ती, फग लाइट, फ्रन्ट गार्ड तथा ब्याक गार्ड जस्ता सामग्री हटाउँदै ११ वटा सवारी साधनलाई कारबाही गरी सुधार गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थानका प्रमुख, प्रहरी नायव निरीक्षक विष्णु न्यौपानेका अनुसार सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि अभियान सुरु गरिएको हो। उनले आगामी दिनमा अभियानलाई अझ कडाईका साथ निरन्तरता दिइने बताए ।
उनले भने, “एकपटक कारबाहीमा परेका सवारीसाधनले पुनः गल्ती गरेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कडा कारबाही गरिनेछ” साथै चालकहरूलाई सम्भावित दुर्घटनाका कारण र त्यसबाट बच्ने उपायबारे सचेतना पनि दिईएको उनले जानकारी दिए ।
यसैबीच, हुट हटाउने कार्यमा अवरोध पु¥याउने एक जना चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख प्रहरी निरीक्षक मिलन पाण्डेले सुरक्षित, व्यवस्थित र जिम्मेवार सवारी सञ्चालनका लागि सबैलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेका छन् ।