बुटवल : तिलोत्तमा नगरपालिका रुपन्देहीले आम नागरिकहरुलाई सहुलियता मूल्यमा औषधी दिने उद्देश्यले आफ्नै फार्मेसी संचालनमा ल्याएको छ । नगरपालिकाको प्रमुख बजारकेन्द्र मणीग्राममा चोकमा स्थापना गरिएको सुलभ फार्मेसीको बुधवार नगरप्रमुख राममृष्ण खाण र नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले संयूक्त रुपमा उद्घाटन गरे ।
स्वास्थ्य सेवालाई सरल र सस्तो बनाउनका लागि नगरपालिकाले देशभरमै पहिलोपटक सुलभ फार्मेसी संचालन गरेको दाबी गरेको छ । औषधीमा कम्पनीहरुले लेखेको मूल्यमा २५ दशमलव १० प्रतिशत छुटमा विरामीहरुले औषधी खरिद गर्न पाउनेछन् । जुनसुकै ठाउँका विरामीहरुले पनि उक्त सेवाबाट लाभ लिन सक्ने नगरपालिकाले जनाएको छ ।
-1777446247.jpg)
नगरपालिकाले बढाबढ मूल्यको प्रतिस्पर्धाका आधारमा फार्मेसी संचालन गर्ने कम्पनी छनौट गरेको थियो । जसअनुसार बुट्स मेडिको प्रा.लि. बुटवलले फार्मेसी संचालनका लागि छनौट भई सम्झौता गरेको छ । ‘बुट्ससँग पाँच वर्षको अवधि रहने गरी फार्मेसी संचालनको सम्झौता गरिएको छ’,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले भने,‘सेवा सन्तोषजनक पाइयो भने सम्झौता अवधि थप गर्न पनि सकिन्छ ।’
नगरपालिकाको तर्फबाट फार्मेसी संचालनका लागि कुल दुई लाख ५० हजार रुपैयाँ घरभाडा बाहेक अन्य खर्चको भार नपर्ने भुसालले जानकारी गराए । फार्मेसी संचालन गर्ने कम्पनीले घरभाडा बाहेक औषधीदेखि अन्य सवै खर्चहरु आफ्ै व्यहोर्ने छ । बजारमा औषधी विक्री वितरण गर्ने फार्मेसीहरुले दिने अधिकतम छुट १० प्रतिशत मात्रै हो ।
आर्थिक अवस्था कमजोर भएका आम नागरिकहरुलाई फार्मेसी संचालनपछि धेरै राहत मिल्ने आशा राखिएको नगरप्रमुख रामकृष्ण खाणले प्रतिक्रिया दिए । आगामी आर्थिक वर्षदेखि सुलभ प्याथोलोजी सेवा पनि संचालन गर्ने तयारीमा नगरपालिका रहेको उनले जानकारी गराए ।
-1777446247.jpg)
‘जवसम्म नागरिकलाई स्वस्थ राख्न सकिदैन्, भौतिक पूर्वाधार विकासले मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिदैन्’,खाण भन्छन्,‘प्याथोलोजी सेवा संचालनपछि विशेषज्ञ चिकित्सकहरुले सहुलियतमा यहीबाटै सेवा दिनुहुनेछ ।’ उनले देशभरमै यस्तो सेवा पहिलोपटक संचालनमा ल्याएको दाबी समेत गरे ।