बुटवल : अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ चिदीका नेटाका एक बृद्ध आठ दिनदेखि परिवारबाट सम्पर्क विहिन भएका छन् । बुटवल १४ स्थित उजेलापुरको घिमिरे गाईफर्ममा काम गर्दै आइरहेका ६० वर्षिय पुन बहादुर कुमाल सम्पर्क विहिन भएका हुन् ।
उनको खोजी कार्य तिव्र बनाउँदा पनि अहिलेसम्म कुनै पहिचान हुन नसकेको जेठो छोरा यम बहादुर कुमालले जानकारी दिए । छोरा कुमालका अनुसार उनी कान कम सुन्ने र बोली स्पष्टसँग बोल्न नसक्ने खालका थिए । ६ महिनादेखि उनी गाईफर्ममा काम गर्दै आइरहेका थिए ।
‘बुवाको खोजी कार्य जारी छ तर अहिलेसम्म कतैबाट केही खबर आएको छैन्’,छोरा कुमालले भने,‘प्रहरीमा पनि खोजीकार्यका लागि जानकारी दिएका छौं ।’ अस्थायी प्रहरी विट बेलभरिया र इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरीलाई खोजी गरिदिन् लिखित आग्रह गरिएको उनले जानकारी गराए ।
उनी घरपरिवारकै सल्लाहमा काम गर्न बुटवल झरेका थिए । गाईफर्ममा उनको मासिक दश हजार रुपैँया तलव थियो । अस्थायी प्रहरी विट बेलले बेपत्ता भएका कुमालको खोजीकार्य जारी रहेको बताएको छ ।