लुम्बिनी : अन्र्तराष्टिय पहिचान बोकेको बुद्धजयन्ती उत्सवलाई प्रधानमन्त्री बालेन्द्र शाहले अवमूल्यन गरिदिएका छन् । संयुक्त राष्ट संघले समेत बैशाख डेका रुपमा लुम्बिनीसहित विश्वभरका मूलुकहरुमा बुद्धजयन्ती मनाउने परम्परा बसालेको छ । लुम्बिनीमा हुने कार्यक्रममा नेपालका राष्ट्रप्रमुखको सहभागी हुने परम्परा रहेको थियो ।
तर यस पटक प्रधानमन्त्री शाह लुम्बिनीमा आयोजित समारोहमा उपस्थित भएनन् । उनले विगतदेखिको परम्परालाई नजरअन्दाज गरिदिएका हुन् । लुम्बिनी दिवसमा सहभागी अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका अधिकारीहरु समेत बालेन्द्रको निर्णयले चकित बनेका थिए ।
लुम्बिनीमा आयोजित शुक्रबारको बुद्धजयन्ती समारोहमा विभिन्न मुलुकका राजदूत तथा कुटनीतिक नियोगका अधिकारीहरु सहभागी रहेका थिए । तर, प्रधानमन्त्रीले कार्यक्रम तय भएको अन्तिम घडीमा अनुपस्थित हुने जनाएपछि यसपटकको समारोह खल्लो भएको छ ।
अघिल्ला वर्षहरुमा बुद्धजयन्तीको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित दिनभर लुम्विनीमा हर्षोल्लासका साथ उत्सव मनाउने गरिएको थियो । तर, प्रधानमन्त्रीकै कारण विहान ६ बजे नै औपचारिक समारोह राखिएपछि शान्ति पदयात्रा सहितका महत्वपूर्ण कार्यक्रमहरु स्थगित गरिएका थिए ।
चेम्बर अफ कमर्श लुम्विनीका अध्यक्ष कृष्ण बहादुर गुरुङले यसपालीको बुद्धजयन्ती उत्सव समारोह खल्लो भएको प्रतिक्रिया दिए । ‘लुम्विनी विकास कोषले स्थानीयलाई पनि समेटेर उत्सव मनाउन सकेन । प्रधानमन्त्री पनि आउछु भनेर आउनुभएन’,उनले भने,‘प्रधानमन्त्री ज्यूले अरु कुरामा खेलबाड गरेपनि धर्मका बारेमा खेलबाड गर्नु राम्रो लागेन् ।’ दिवसमा गरिएको कार्यक्रम धेरै फितलो भएको समेत उनको प्रतिक्रिया छ ।

बुद्धजयन्ती मनाउने बारेमा एक महिनादेखि अघि नै चहलपहल हुनेगरेपनि यसपाली त्यस्तो अनूभुति गर्न नपाएको उनले सुनाए । कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल सहित संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री एवं लुम्विनी विकास कोषका
अध्यक्ष खड्ग प्रसाद पौडेल (गनेस) लुम्विनी प्रदेश सरकारका प्रमुख र मन्त्रीहरु उपस्थित भएका थिए । मायादेवी मन्दिर परिसरमा भव्य समारोह गर्ने भनेर सजावट गरिएको मंच र खाली कुर्सीहरु हेरेर अतिथीहरु फर्केका छन् । लुम्बिनीको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा भएको चर्चा तथा परिचर्चा बुद्धजयन्तीका दिन गरिएन् । सभामुख अर्यालले मायादेवी मन्दिर भित्र करिव आधा घण्टा ध्यान गरेपछि कार्यक्रम सम्पन्न भएको हो ।
सभामुख अर्याल सहित विभिन्न मन्त्री र प्रदेश प्रमुखहरु बुद्धजयन्ती उत्सवमा एक शब्द नबोली फर्किएका छन् । विकास कोषका अध्यक्ष एवं पर्यटन मन्त्री पौडेलले आफ्नै नामबाट प्रधानमन्त्री सहभागी हुने भनेर अतिथीहरुलाई निमन्त्रणा पठाएका थिए ।
प्रधानमन्त्री शाह अघिल्लो दिनसम्म आउने कार्यक्रम तय भएपनि एकाएक रद्द भएको विकास कोषका पदाधिकारीहरुले सुनाएका छन् । बुद्धजन्मस्थल मायादेवी मन्दिर परिसरमा भएको समारोहमा विगतको जस्तो उत्साह देखिएको थिएन् ।
अघिल्लो दिनदेखि निरन्तर परिरहेको बर्षातले समेत दर्शन गर्न आएका आन्तरिक एवं बाह्य पर्यटकहरु प्रभावित भएका छन् । पर्यटकहरु मायादेवी मन्दिर सहज रुपमा दर्शन गर्न समेत पाएनन् ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको सम्झनामा बुद्धजयन्ती मनाउने गरिन्छ । गौतमबुद्धको जन्म, बोधि प्राप्ति र महापरिनिर्वाण पनि वैशाख पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले विशेष दिनका रूपमा मनाउने गर्छन् ।
भगवान विष्णुको नवौं अवतारका रूपमा बुद्धलाई बुझिन्छ । त्यसकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी जयन्ती मनाउँछन् । लुम्बिनीमा भिक्षु, भिक्षुणी, डोल्मासर लगायत हजारौं श्रद्धालु भक्तजनहरु सहभागी भएका छन् । लुम्बिनीस्थित बुद्ध जन्मस्थल मायादेवी मन्दिरमा विशेष पूजा अर्चना तथा धार्मिक कार्यक्रमको समेत आयोजना गरिएको छ । बौद्ध धर्मावलम्बीहरुले दान, ध्यान, प्रवचन लगायतका कार्य गरी बुद्ध जयन्ती मनाउने गर्छन् ।
सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा लुम्बिनी सूचीकृत भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रूपमा जन्मेका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा दरबार त्याग गरी ज्ञानको खोजीमा निस्किएका थिए । बुद्धजयन्तीका अवसरमा सरकारले शुक्रवार सार्वजनिक विदा दिएको थियो । - अन्नपूर्ण पोष्टबाट