प्यूठान : प्यूठान नगरपालिका – ८ बाग्दुलाका निर्माण व्यवसायी दधिराम भण्डारीमाथि सरुमारानी गाउँपालिका–६ बागेखोलामा आक्रमण गरिएको छ । आक्रमणमा परी उनी घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका उनलाई प्यूठान अस्पतालमा उपचार गरिएको थियो र हाल उनी घरमै आराम गरिरहेका छन् ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा सरुमारानी गाउँपालिका – ६ का कुमार बहादुर पुन र यमराज पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । दुवै जना आफ्नै गाडीका मालिक तथा चालक रहेको बताइएको छ ।
घाइते भण्डारी होटल व्यवसायी संघ प्यूठानका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य संघ प्यूठानका पूर्व उपाध्यक्ष समेत हुन् । उनले आफूमाथि कुनै छलफल नगरी एक्कासी आक्रमण भएको बताएका छन् । प्रारम्भिक जानकारीअनुसार सडक निर्माणका क्रममा बाटो अवरुद्ध भएको विषयलाई लिएर कुटपिट भएको बताइएको छ ।
भण्डारीले आक्रमणकारीहरू विरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन् । सोमावार ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराईएको निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नविनकुमार श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, प्यूठान उद्योग वाणिज्य संघ लगायत संघ संस्थाहरुले घटनाबारे गम्भीर ध्यानाकर्षण गराई दोषीमाथी कडा कारवाहीको माग गरेका छन् ।