प्यूठान : सोमबार परेको अविरल वर्षाले जनजीवन प्रभावित भईरहँदा मल्लरानी गाउँपालिका वडा नं – ३ मा भने सामाजिक सुरक्षा भत्ता वितरण रोकिएन, बरु सेवा झन् नागरिकको नजिक पुगेको देखियो । भत्ता लिन सेवा केन्द्रसम्म पुग्न नसकेका ज्येष्ठ नागरिकलाई बाटोमै सेवा दिँदै वडा कार्यालय, शाइन रेसुंगा डेभलपमेन्ट बैंक (खलंगा शाखा) र नेपाल प्रहरीको टोलीले मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेका छन् ।
जेविनडाँडाका ८४ वर्षीय डिलबहादुर घर्ती मुसलधारे वर्षाका कारण चौरपानी सेवा इकाईसम्म पुग्न नसकी बाटोमै ओत लागेर बसेका थिए । अत्यावश्यक परेको भन्दै उनले गाडी रोकेर अनुरोध गरेपछि बैंकका कर्मचारीले तत्कालै त्यहीँ भत्ता उपलब्ध गराए । वडा अध्यक्ष नोमराज पौडेलले अति जरुरी छ बाबु भनेपछि त्यसपछि तुरुन्तै सेवा दिएको र सेवाग्राही निकै खुसी भएको प्रतिक्रिया दिए ।
७५ वर्षीया चित्रादेवी शर्मा पनि हावाहुरी र वर्षाका कारण सेवा केन्द्र पुग्न नसकी चिन्तित अवस्थामा बाटोमै बसेकी थिईन् । अर्को दिन महिला समूहमा रकम बुझाउनुपर्ने बाध्यता रहेकी उनले समस्या राखेपछि उनलाई पनि सोही स्थानमै भत्ता उपलब्ध गराइएको थियो ।
अति अशक्त, विधवा, दलित बालबालिका तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै वडाले दुई स्थानबाट भत्ता वितरण गर्दै आएको छ । तर आवश्यक परे सेवाग्राही जहाँ छन्, सेवा त्यहीँ पु¥याउने लचकता अपनाइएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक, खलंगा शाखाका प्रमुख विञ्जुन बस्नेतले ज्येष्ठ नागरिकलाई दुःख नहोस् भन्ने उद्देश्यले जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहबरमा सेवा विस्तार गरिएको बताए । स्थानीय तहको यस्तो पहलले सेवाग्राहीलाई सहजता मात्र होइन, राज्यप्रतिको विश्वास पनि बलियो बनाएको छ ।