झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानले क्याम्पस तथा विद्यालयमा कानूनी शिक्षा कार्यक्रमको शुभारम्भ गरेको छ । शनिवारदेखि वडा नम्वर २ स्थित बलभद्र मावी बाँदीकोट र वडा नम्वर ५ स्थित हिरापोखरी मावीबाट कार्यक्रमको शुभारम्भ गरिएको हो ।
गाउँपालिकाको न्यायीक समिति मार्फत प्रत्येक वर्ष यो कार्यक्रम संचालन हुँदै आइरहेको छ । अघिल्लो आर्थिक वर्षदेखि थालिएको कानूनी शिक्षा कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको हो । विद्यालय तहदेखि बालवालिकाहरुलाई कानूनी शिक्षा दिएमा मात्र भविष्यको रेखा कोर्न सहज हुने भएकाले यस्तो कार्यक्रमको अवधारणा अघि सारिएको गाउँपालिका उपाध्यक्ष एवं न्यायीक समितिका संयोजक प्रमोद पोख्रेलले जानकारी दिए ।

स्थानीय सरकार गठन, संचालन, सेवा प्रवाह, विकास निर्माण सहित पालिकामा गठित न्यायीक समिति मार्फत हुने सेवाको वारेमा विद्यार्थीहरुलाई अभिमुखीकरण गराइएको छ । न्यायीक समितिका संयोजक पोख्रेल सहित जिल्ला अदालत प्यूठानका श्रेस्तेदार राजेन्द्रकुमार शर्मा, जिल्ला सरकारी वकिल कार्यालय प्यूठानका जिल्ला न्यायधिवक्ता जयप्रसाद धितालले विद्यार्थीहरुलाई प्रशिक्षण गराएका छन् ।
पहिलो दिनको कार्यक्रममा दुवै विद्यालयमा गरी शिक्षक विद्यार्थी सहित करिव दुई सय जना प्रत्यक्ष लाभांवित भएको झिमरुक गाउँपालिकाका न्यायीक समितिका फोकल पर्सन एवं प्रशासकीय अधिकृत यामलाल पोख्रेलले जानकारी दिए । पालिकाले यो कार्यक्रम माध्यमिक तहका सवै विद्यालयमा संचालन गर्ने योजना बनाएको छ । पालिकाभरी कुल सामुदायिक र संस्थागत गरी १४ वटा माध्यमिक विद्यालय र एउटा गौमुखी क्याम्पस मच्छि संचालनमा छन् ।