बुटवल : बुटवल र पाल्पाको संगलमस्थल तिनाउ गाउँपालिका पाल्पास्थित तिनाउ नदीमा गर्मी छल्न सर्वसाधरणहरुको दिनहुँ बाक्लो उपस्थिती हुने गरेको छ । तिनाउ नदीमा पौडी खेल्न गएका नागरिकहरुले भरिभराउ हुने गरेको छ । भारतीय सिमानाका नजिक भएकाले नेपालीको तुलनामा भारतीय नागरिकहरु तिनाउमा पौडी खेल्न पुग्ने गरेका छन् । तर, उनीहरुलाई भूगोलको बारेमा स्पष्ट जानकारी नहुँदा केहीले अकालमै ज्यान समेत गुमाएका छन् ।
प्रहरी चौकी दोभान पाल्पाका प्रहरी सहायक निरीक्षक मोहन खड्काले पछिल्लो समय भारतका नागरिकहरु तिनाउ नदीमा गर्मी छल्न अत्यधिक रुपमा आउने गरेको जानकारी दिए । ‘भारतका विभिन्न ठाउँबाट नागरिकहरु गर्मी छल्न यो क्षेत्रमा आउने गरेका छन्’,उनले भने,‘पौडी खेल्ने क्रममा चार जना भारतीय र एक जना नेपाली नागरिकहरुको डुबेर मृत्यु भएको छ ।’

उनका अनुसार भारतको गोरखपुर, लखनउ, नयाँ दिल्ली, राजीस्थान, नौत्वना लगायतका क्षेत्रबाट भारतीय नागरिकहरु आउने गरेको उनले जानकारी दिए । तिनाउ नदीमा पौडी खेल्दा कुन क्षेत्रमा कति गहिराई छ भन्ने सूचना भारतीय नागरिकलाई जानकारी नहुँदा डुबेर मृत्यु हुने गरेको पाइएको खड्काले जानकारी दिए ।
उनीहरुलाई सचेतनाका लागि सडक छेउँका विभिन्न क्षेत्रमा सचेतना होर्डिङ बोर्डहरु राख्ने गरेको उनको भनाई छ । ‘जोखिम बढ्दै गएपछि तिनाउ नदीमा पौडी खेल्ने कामलाई रोक्ने काम भइरहेको छ’,उनले भने,‘नागरिकहरुलाई सचेतना र जोखिम नियन्त्रणका कामहरु सँगै गरिएको छ ।’
उनले विपद् व्यवस्थापनका लागि प्रहरीसँग पर्याप्त जनशक्ति र स्रोत साधनको अभाव हुने गरेको समेत गुनासो गरे । स्थानीय तहसँग सहकार्य गरेर विपद्को व्यवस्थापन गरिएको उनले सुनाए । तिनाउ नदीको गहिराई जानकारी नहुँदा भारतीय नागरिकहरुले अकालमै ज्यान गुमाउने गरेको पाइएको उनले सुनाए ।