प्यूठान : लुम्बिनी प्रदेश सरकारले प्यूठानमा तीन वटा पक्की पुल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ । बहुवर्षिय योजना अन्तर्गत तीन वटा पक्की पुल बनाउनका लागि ४८ करोड ६७ लाख रुपैयाँ स्रोत सुनिश्चत भएको हो ।
स्वर्गद्वारी नगरपालिकाको माडी क्षेत्रमा कोलम्पा–बाह्रबिसे पक्की पुलका लागि १६ करोड ८२ लाख, गौमुखी गाउँपालिकामा पन्ध्रमुरे–लिवाङ पक्की पुलका लागि १७ करोड ११ लाख र प्यूठान नगरपालिकामा दम्ती झिमरुक नदी पक्की पुलका लागि १४ करोड ७४ लाख रुपैयाँ बजेट सुनिश्चत गरिएको हो ।
लुम्विनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षदेखि निर्माण थालेर चालु आर्थिक वर्षमा प्यूठानमा तीन वटा पक्की पुल निर्माणको अन्तिम चरणमा छन् । झिमरुक गाउँपालिका क्षेत्रमा मच्छि–पिडाल्ने जोड्ने पक्की पुल, कुटीचौर–किटघाट पक्की पुल र पाडावाङ–दोमै पक्की पुल निर्माणको अन्तिम चरणमा छन् ।
लुम्विनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)को जोडबलमा दुई आर्थिक वर्षमा ६ वटा पक्की पुल निर्माण हुन लागेका हुन् । पक्की पुल नहुँदा वर्षौदेखि समस्यामा परेका नागरिकहरु उत्साहित भएका छन् ।
‘पुल नहुँदा पीडामा बाँचिरहेका नागरिकहरुलाई धेरै राहत मिलेको छ’,झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले भने,‘मन्त्री रोज राणाले नागरिकका पीडा बुझ्नुभयो र बजेट विनियोजनमा पहल गर्नुभयो । जिल्लाले विकासप्रेमी नेताको रुपमा मन्त्री राणालाई पाएको नागरिकले महशुस गरेका छन् ।’