प्यूठान : दुवै मिर्गौला फेल भएर घरको अभिभावकको मृत्यु भएपछि प्यूठानका कुमाल परिवारलाई किरिया खर्च जुटाउन समेत मुश्किल परेको छ । झिमरुक गाउँपालिका–६ निन्युखर्क प्यूठानकी शान्ता कुमाल र उनका तीन छोरीहरु गम्भिर आर्थिक संकटबाट गुज्रिरहेका छन् ।
कुमाल परिवारको दर्दनाक पीडा देखेर झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले उनको घरमै पुगेर १३ औं दिनको दिन आवश्यक पर्ने खाद्यान्न सामग्री सहयोग गरेका छन् । ‘व्यक्तिगत रुपमा उहाँहरुलाई केही राहत मिलोस् भनेर चामल, नुन र तरकारी घरमै पुगेर दिएको छुँ’,पोख्रेलले भने,‘राहत स्वरुप तत्कालका लागि केही सहयोग गरेको छु । भावी दिनमा पनि थप सहयोगका लागि पहल गर्छु ।’ पोख्रेलले कुमाल परिवारलाई सान्तवना स्वरुप गाउँपालिकाबाट गर्न सकिने सहयोगको लागि समेत सोँच बनाएको प्रतिक्रिया दिए ।

‘श्रीमान नारायण कुमालको उपचार गर्दा भएजतिको पैसा सकियो’,मृतककी श्रीमती शान्ता कुमालले भनिन्,‘पैसा पनि सकयो श्रीमानलाई पनि बचाउन सकिएन ।’ उनले श्रीमानको उपचारदुई लाख खेत बन्धक राखेर र अरु सहयोग सहयोग जुटाएर उपचार गरेका थियौं तर श्रीमानलाई बचाउन सकिएन ।’ भैरहवामा उपचार गर्दा सहयोग संकलनबाट ६ लाख र खेत बन्धक राखेर दुई लाख गरी आठ लाख रुपैयाँ श्रीमानको उपचारमा सकिएको उनले बताइन ।
चार छोरीमध्ये जेठीको विहे भएको छ । अरु तीन छोरीको पालनपोषण र हेरचाह उनको काँधमा छ । तर, आम्दानीको उपाय नभएपछि यो परिवार अहिले विचल्लीमा परेको हो । माइली छोरी १८ वर्षिय अस्मिताले कक्षा ११ मा पढ्छिन । साइली १४ वर्षिय अन्जुले आठ कक्षा र कान्छी ९ वर्षिय संगीता कुमालले चार कक्षामा पढछन् ।

किरिया बसेको र अन्तिम संस्कारमा लाग्ने खर्चको समेत जोहो गर्न हम्मेहम्मे परिरहेको यो परिवारलाई भोलीका दिन कसरी विताउने भन्ने चिन्ताले पिरोलीरहेको छ । ‘छोरीहरु दाङमा त्रिवेणी गाउँपालिका रोल्पाका उपाध्यक्ष लेखमणी डाँगी ज्यूको घरका बसेर पढ्छन’, शान्ताले भनिन्,‘साधमा श्रीमान हुनुहुन्थ्यो र आड भरोसा थियो सवै गुम्यो ।’