प्यूठान : प्यूठानको गौमुखी गाउँपालिका वडा नम्वर ७ नारीकोटमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ४० जनाले प्रत्यक्ष सेवा लिएका छन् । वडा कार्यालयले विगतका वर्षदेखि निःशुल्क शिविर संचालन गर्दै आइरहेको छ ।
यसवर्ष संचालन गरिएको शिविरमा पुरुषको तुलनामा बहुसंख्यक महिलाहरु सहभागी थिए । वडा कार्यालयको सहयोगमा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि बुटवल र निमतारा पोलिक्लिनिक विजुवार प्यूठानको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

शिविरमा आठ जना विशेषज्ञ चिकित्सक सहित २२ जना स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए । हाडजोनी तथा ट्रमा रोग विशेषज्ञ डा.सोम आले, स्तन तथा क्यान्सर रोग विशेषज्ञ डा.सञ्जन पाण्डे, महिला तथा प्रसुती रोग विशेषज्ञ डा.रेश्मी बैदवार, फिजिसिएन डा.द्धारिका प्रधान, डा. सुभास जिसी, डा. अर्जुन सुवेदी र डा.मनिष पराजुलीले विरामीको चेकजाँच गरेका थिए ।
अस्पतालले प्रत्येक वर्ष विभिन्न जिल्लाहरुका समुदायस्तरमा पुगेर सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको लुम्बिनी सिटी अस्पतालका जनसम्पर्क अधिकृत एवं संचालक राधा विष्टले जानकारी गराइन् । उनका अनुसार शिविरमा अस्पतालले विरामीहरुका लागि आवश्यक पर्ने औषधीहरु निःशुल्क रुपमा उपलव्ध गराइएको छ ।

शिविर संचालनका लागि वडा कार्यालयले एक लाख रुपैँया बजेट खर्च गरेको वडा अध्यक्ष कोमल पुरीले जानकारी गराए । ‘गतवर्षको शिविरमा ३ सय ३० जनाले सेवा लिएका थिए’,पुरीले भने,‘सेवाग्राहीहरुको माग अनुसार यसवर्ष पनि बजेट विनियोजन गरेका थियौं ।’
उनले चिकित्सक र स्वास्थ्यकर्मीहरुको खाना आवास र यातायात खर्चको मात्र वडा कार्यालयले व्यवस्थापन गर्ने र अरु सवै खर्च अस्पतालहरुले गर्ने गरेको जानकारी गराए । गाउँमै विशेषज्ञ डाक्टरहरु आएर सेवा दिँदा दुर्गम क्षेत्रका सयौं नागरिकहरु प्रत्यक्ष लाभांवित भएको पुरीले बताए । गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीको प्रमुख आतिथ्यता, वडा अध्यक्ष कोमल पुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।