प्यूठान : सरुमारानी गाउँपालिकाले विकास साझेदार संस्था नेवासँगको सहकार्यमा विभिन्न बस्तीमा खानेपानी तथा सरसफाई आयोजना विस्तार गर्दै गएको छ। गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भएका तथा निर्माणाधीन आयोजनामार्फत सयौँ घरधुरीमा सुरक्षित खानेपानी सेवा पु¥याउने लक्ष्य राखिएको पालिका प्रमुख झग बहादुर विश्वकर्माले जानकारी गराए।
यसैक्रममा गाउँपालिका – ४ धनकोटस्थित डुम्री खोला धनकोट खानेपानी आयोजना सम्पन्न भएसँगै ६३ घरधुरीमा घर–घर धारा निर्माण गरिएको छ। आयोजना सम्पन्न भएपछि स्थानीयवासीले सहज रूपमा स्वच्छ खानेपानीको सुविधा पाएका छन्।
उपभोक्ता समितिका सचिव हीरासिंह रानामगरका अनुसार आयोजनामा नेवा संस्थाको १३ लाख २६ हजार ३४१ रुपैयाँ, गाउँपालिकाको आठ लाख ३४ हजार ७०१ रुपैयाँ तथा उपभोक्ता समितिको श्रमदान आठ लाख ७५ हजार ५४३ रुपैयाँ बराबरको योगदान रहेको छ। आयोजना सम्पन्न भईसकेपछि सामाजिक परीक्षणसमेत गरिएको उनले जानकारी दिए।
गाउँपालिकाका प्रवक्ता चिन्तबहादुर सोमैले पालिकाभित्र खानेपानीको पहुँच विस्तार गर्न नेवासँग साझेदारी गरी थप आयोजनाहरू अघि बढाईएको बताए। प्रवक्ता सोमैका अनुसार गाउँपालिका – ३ मा दुमही खानेपानी तथा सरसफाइ आयोजना र वडा नम्बर ६ मा चप्ली खोला खानेपानी तथा सरसफाइ आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्।
दुमही खानेपानी तथा सरसफाइ आयोजना ३२ लाख ५२ हजार १९३ रुपैयाँको लागतमा निर्माण भईरहेको छ। उक्त आयोजनाबाट ३३ घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ। यस्तै, ९१ लाख ३८ हजार १७५ रुपैयाँ लागतको चप्ली खोला खानेपानी तथा सरसफाइ आयोजनाबाट ९९ घरधुरीमा खानेपानी सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।
गाउँपालिकाले खानेपानीको पहुँचबाट वञ्चित बस्तीलाई प्राथमिकतामा राखी साझेदारीका कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि थप १३२ घरधुरीमा स्वच्छ र सुरक्षित खानेपानी सेवा पुग्ने गाउँपालिकाले जनाएको छ।