प्यूठान : गौमुखी गाउँपालिका प्यूठानको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने गाउँसभा बैठक सडक पूर्वाधारमा पर्याप्त बजेट विनियोजन नगरिएको भन्दै विवादित बनेको छ । वडा नम्बर –४ का वडा अध्यक्ष धनिराम सुनारसहित पाँच जना जनप्रतिनिधिले पुजाँ–बाग्लीबाङ हुँदै झाक्रीढुङ्गा जोड्ने मोटरबाटोका लागि बजेट अपर्याप्त भएको भन्दै गाउँसभा बहिष्कार गरेका छन् ।
गाउँसभा बहिष्कार गर्नेमा वडा अध्यक्ष सुनार सहित कार्यपालिका सदस्य बमबहादुर सुनार, गाउँसभा सदस्य भरत केसी, सावित्री टमाटा र तुलबहादुर सुनार रहेका छन् । उनीहरूले उक्त सडक योजनाका लागि गाउँपालिकाले केवल १५ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेकोप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूको भनाईमा वर्षौंदेखि अधुरो रहेको सडकलाई पूर्णता दिन यो बजेट अपर्याप्त भएको हो ।
वडा अध्यक्ष सुनारका अनुसार उनले विगत चार वर्षदेखि उक्त सडक निर्माण सम्पन्न गर्न निरन्तर पहल गर्दै आएका भए पनि गाउँपालिका तथा प्रदेश सरकार दुवै तहबाट मागको सुनुवाई नभएको गुनासो गरे । उनले भने, ‘कम्तीमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको भए सडक सम्पन्न हुने अवस्था थियो । स्थानीयको आवागमनसँग प्रत्यक्ष जोडिएको योजनालाई वर्षौंदेखि बेवास्ता गरिएको छ ।’
हाल उक्त सडक निर्माण अधुरो रहँदा झाँक्रीढुङ्गा जानको लागि स्थानीयवासीहरू बाग्लीबाङ – डाँडाकटेरी–ठूलाबेसी–अग्लुङफेदी– रजवारा हुँदै झाक्रीढुङ्गा पुग्न घुमाउरो तथा लामो दूरीको बाटो प्रयोग गर्न बाध्य छन्। सडक सम्पन्न भएमा यात्रा सहज हुनुका साथै झाक्रीढुङ्गा क्षेत्रको पर्यटकीय सम्भावना समेत बढ्ने अपेक्षा गरिएको छ।
स्थानीय जनप्रतिनिधिहरूले सडक निर्माणप्रति गाउँपालिका नेतृत्व उदासीन रहेको आरोप लगाउँदै विरोधस्वरूप गाउँसभा बहिष्कार गरेको बताएका छन्। गाउँपालिकाले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।