प्यूठान : प्यूठान नगरपालिकाले गौरवका साथ अघि बढाएको बेलुवा–साँढेखोला सडक चौडा तथा स्तरोन्नति योजना अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। निर्माण कार्य सुस्त गतिमा हुँदा स्थानीयले लामो समयदेखि धुलोको सास्ती खेपिरहेका छन् भने बर्खायाम सुरु भएसँगै अब हिलोले थप सास्ती दिने चिन्ता बढेको छ।
दुई खण्डमा विभाजन गरी सञ्चालन गरिएको योजनामध्ये पहिलो खण्डअन्तर्गत बेलुवादेखि – हरिखोलासम्म सडक चौडा तथा स्तरोन्नतिको काम सडक डिभिजन कार्यालय प्यूठानमार्फत २ करोड ५० लाख रुपैयाँको लागतमा श्री अपि–स्वर्गद्वारी जेभीले गरिरहेको छ। सम्झौताअनुसार यहि असार मसान्तभित्र काम सम्पन्न हुनुपर्ने भए पनि हालसम्म भौतिक प्रगति करिब ५० प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख दीपक सुनारले जानकारी दिए।
उनका अनुसार अहिले टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ भने नाली र ग्राभेलको काम लगत्तै सुरु गरिनेछ। असार मसान्तसम्म भौतिक प्रगति करिब ६० प्रतिशत पुग्ने अनुमान गर्दै बाँकी काम म्याद थप गरी सम्पन्न गरिने उनले बताए। कालोपत्रेका लागि भने हाल बजेट उपलब्ध नभएको उनको भनाई छ।
दोस्रो खण्डअन्तर्गत हरिखोलादेखि साँढेखोलासम्मको सडक विस्तारका लागि प्यूठान नगरपालिकाले १ करोड ८० लाख र संघीय सरकारले १ करोड २० लाख रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ। तर निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन। नगरपालिकाका अनुसार हालसम्म करिब १ करोड रुपैयाँ बराबरको मात्रै काम सम्पन्न भएको छ।
प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले समयमै काम सम्पन्न नहुँदा संघीय बजेट फिर्ता जाने जोखिम रहेको बताए। निर्माण कम्पनीले अपेक्षाअनुसार काम अघि बढाउन नसकेको उल्लेख गर्दै उनले आवश्यक समन्वय र पहल भईरहेको जानकारी दिए।
योजनालाई निरन्तरता दिन आवश्यक बजेट स्रोत सुनिश्चित तथा अन्य समन्वयका लागि नगरप्रमुख विष्णु योगी काठमाडौं पुगेका छन्। म्याद थप गरी सडक विस्तार अभियानलाई निरन्तर अघि बढाइने नगरप्रमुख योगीको भनाई छ।
बेलुवादेखि क्वाडी, जुम्री, विजुवार हुँदै बाग्दुलासम्म १५ मिटर चौडाइको सडक निर्माण गर्ने दीर्घकालीन योजनाअन्तर्गत सडकको दायाँ–बायाँ नाली र फुटपाथ निर्माण गर्ने लक्ष्य राखिएको छ। यसका लागि सडक क्षेत्राधिकारभित्र परेका घर, टहरा तथा पर्खाल स्थानीयले हटाएर उल्लेखनीय सहयोग गरेका छन्।
तर निर्माण कार्यले गति लिन नसक्दा अहिले स्थानीयले धुलोको समस्या भोगिरहेका छन् भने बर्खायाम सुरु भएसँगै सडक हिलाम्मे हुने चिन्ताले उनिहरू थप सशंकित बनेका छन्। चितीखोलाका स्थानीय युवराज बिष्टले विकासका लागि आफूहरूले ठूलो त्याग गरेको स्मरण गराउँदै अब कामले गति लिनुपर्ने बताए। ‘विकासका लागि हामीले हाम्रो घर आधा काटेर दिएका छौं । सडक जसरी पनि बन्नुपर्छ। अब नगरपालिकाले विशेष तदारुकता देखाउन जरुरी छ,’ उनले भने।
प्यूठान नगरपालिकाका इन्जिनियर प्रेम पौडेलले चितीखोला बजार क्षेत्रमा केही स्थानमा साइड क्लियरेन्सको समस्या रहेको बताए। भत्काइएका संरचनाको क्षेत्रमा निर्माण कार्य अघि बढिरहेको उल्लेख गर्दै उनले काम अपेक्षाभन्दा केही सुस्त गतिमा भइरहेको स्वीकार गरे ।
यता, हरिखोलादेखि साँढेखोलासम्मको सडक विस्तारको जिम्मा पाएको एबिलो जेभी निर्माण कम्पनीका प्रतिनिधि अमृत थापासँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनको मोबाइल फोनमा सम्पर्क हुन सकेन ।