दैलेख : दैलेख जिल्ला अदालतले आर्थिक वर्ष २०८२÷८३ को असार ३२ गतेसम्म कुल ५५४ थान मुद्दाको लगत मध्ये ४४२ थान मुद्दा फछ्र्यौट गर्दै करिब ८० प्रतिशत फछ्र्यौट दर कायम गरेको छ। हाल अदालतमा ११२ थान मुद्दा विचाराधीन रहेका छन्।
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेका अनुसार बाँकी रहेका मुद्दामध्ये एक वर्ष नाघेका कुनै पनि मुद्दा छैनन्, जुन अदालतको कार्यसम्पादनको महत्वपूर्ण उपलब्धि हो।
बाँकी मुद्दामध्ये ६ महिना नाघेका ११ थान मात्र छन्। तीमध्ये ७ थान सम्बन्ध विच्छेदका मुद्दा कानुनी व्यवस्थाअनुसार एक वर्षको अवधि पूरा हुनुपर्ने भएकाले विचाराधीन रहेका हुन्।
त्यस्तै, बाँकी रहेका ५ थान मुद्दा प्रक्रियागत कारणले फछ्र्यौट हुन सकेका छैनन्। जसमा २ थानमा परीक्षण प्रतिवेदन आउन बाँकी, १ थानमा बाहिरी जिल्लाबाट तामेली प्राप्त हुन बाँकी, १ थानमा फाँटवारी पेश हुन बाँकी रहेको अदालतले जनाएको छ। अन्य सबै बाँकी मुद्दा ६ महिनाभित्रका रहेको जनाइएको छ।
जिल्ला न्यायाधीश पाण्डेले पुराना मुद्दा शून्यमा झार्दै समयमै न्याय सम्पादनलाई प्राथमिकता दिइएको बताउँदै आगामी दिनमा पनि छिटो, छरितो र प्रभावकारी न्याय सेवा प्रवाहलाई निरन्तरता दिइने उल्लेख गरे।