प्यूठान : प्यूठान जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०८२÷८३ मा दर्ता तथा जिम्मेवारी सरेर आएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । अदालतका अनुसार यस आर्थिक वर्षमा विचाराधीन रहेका कुल ८४९ मुद्दामध्ये ३४६ वटा सम्बन्धविच्छेदसम्बन्धी छन्। तीमध्ये २८१ वटा मुद्दा फछ्र्योट भईसकेका छन्।

जिल्ला न्यायाधीश हिरण्यप्रसाद भण्डारीले बालविवाह, वैदेशिक रोजगारी, पारिवारिक असमझदारी तथा बदलिँदो सामाजिक परिवेशका कारण सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएको बताए।
बिहीबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको विवरणअनुसार प्यूठान जिल्ला अदालतले चालु आर्थिक वर्षमा मुद्दा फछ्र्योटतर्फ पनि लक्ष्यभन्दा राम्रो उपलब्धि हासिल गरेको छ। अदालतले ५४४ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा ५८७ वटा मुद्दा टुंग्याएको छ। यससँगै वार्षिक कार्ययोजना अनुसार ६५ प्रतिशत फछ्र्योट गर्ने लक्ष्य रहेकामा ६९.१४ प्रतिशत मुद्दा फछ्र्योट भएको छ।
अदालतका श्रेस्तेदार राजेन्द्रकुमार शर्माले पछिल्ला तीन आर्थिक वर्षदेखि मुद्दा फछ्र्योटको संख्या निरन्तर बढिरहेको जानकारी गराए। उनका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ५०२, आर्थिक वर्ष २०८१÷८२ मा ५५७ र चालु आर्थिक वर्षमा ५८७ वटा मुद्दा फछ्र्योट भएका छन्। अदालतमा हाल दुई वर्षभन्दा पुराना कुनै पनि मुद्दा बाँकी नरहेको अदालतले जनाएको छ।