बुटवल : रूपन्देहीमा पछिल्लो समय सर्प र सर्पदंशका घटनाहरू बढ्दै गएपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । धार्मिक आस्था राख्ने संस्था रुद्रगणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नबिन पौडेलले जिल्लाका विभिन्न विद्यालयहरुमा पुगेर सर्पको पहिचान, सर्पदंशबाट बच्ने उपाय, सर्पदंश भएमा अपनाउनुपर्ने प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरेका हुन् ।
कार्यक्रम मार्फत विद्यार्थी तथा शिक्षकहरूलाई सर्पप्रति फैलिएका भ्रम हटाई वैज्ञानिक जानकारी प्रदान गरिएको छ । सर्प संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्ने विषयमा समेत सचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको अभियन्ता पाण्डेयले बताए । आगामी दिनमा यस्ता कार्यक्रम रूपन्देहीका सवै विद्यालय र समुदायस्तरमा संचालन गर्ने लक्ष्य संस्थाले राखेको छ ।