प्यूठान : जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थान प्यूठानमा ट्राफिक प्रहरी हवल्दारका रूपमा कार्यरत शरद केसी ड्युटी सकेर घर फर्किएपछि अर्को जिम्मेवारीमा जुट्छन – श्रीमती खीमा केसीले सञ्चालन गर्दै आएको प्रगति कृषि तथा पशुपन्छी फार्मको व्यवस्थापनमा । चार वर्षअघि १५ लाख रुपैयाँ ऋण र आफ्नै लगानीबाट सुरु भएको यो भैंसीपालन व्यवसाय अहिले प्यूठानमा उदाहरणीय बन्दै गएको छ।
प्यूठान नगरपालिका–७ निवासी ३५ वर्षीया खीमा केसीले सञ्चालन गरेको उक्त फार्ममा हाल ११ वटा भैंसी छन्। जसमध्ये ७ वटा दुहुना छन्। उन्नत जातका भैंसी पालिएको फार्मबाट हाल दैनिक करिब ५० लिटर दूध उत्पादन भईरहेको छ भने करिब ४०÷४५ लिटर दूध बिक्री हुँदै आएको छ। आगामी दिनमा उत्पादन बढाएर दैनिक १ सय लिटर पु¥याउने लक्ष्य रहेको खीमा बताउँछिन्।
करिब ९ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा भैंसीका लागि आवश्यक घाँस व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको छ। घाँस खेतीका लागि जग्गा व्यवस्थापन गर्दै आएकी उनले सबै खर्च कटाएर वार्षिक ६ देखि ७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको बताईन्।
’श्रीमानको तलबले मात्रै घर खर्च चलाउन गाह्रो हुन्थ्यो। भैंसीपालन सुरु गरेपछि आम्दानीसँगै आत्मविश्वास पनि बढेको छ’, खीमा भन्छिन्।
फार्म सञ्चालनमा श्रीमान् शरद केसीको सहयोग महत्वपूर्ण रहेको उनको भनाई छ। ’श्रीमान् ड्युटी सकिनासाथ फर्मको काममा सघाउनुहुन्छ। पहिला जिल्ला बाहिर हुँदा पनि घर आएका बेला यही काममा सहयोग गर्नुहुन्थ्यो,’ उनले भनिन्।
भैंसीपालन व्यवसाय विस्तारका लागि लिएको १५ लाख रुपैयाँ ऋण अब केही वर्षभित्रै चुक्ता गर्ने अवस्थामा पुगेको शरद केसी बताउँछन्। परिवारको निरन्तर मेहनत र पशुपालनप्रतिको लगावले व्यवसायलाई यो अवस्थामा ल्याउन सफल भएको उनको भनाई छ।
यद्यपि, विगत चार वर्षदेखि दूधको मूल्य वृद्धि हुन नसक्दा पशुपालक किसान मर्कामा परेको उनले गुनासो गरे। उत्पादन लागत बढ्दै गए पनि दूधको मूल्य स्थिर रहँदा व्यवसाय सञ्चालनमा चुनौती थपिएको उनको भनाई छ।
प्यूठान नगरपालिकाले सूचीकृत सहकारीमार्फत किसानलाई दूधमा प्रति लिटर १० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। नगरपालिकाका मेयर विष्णु योगीले किसानको आयआर्जनमा प्रत्यक्ष टेवा पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताए।
उनले जुम्री र बाग्दुलास्थित दूध संकलन केन्द्रलाई थप प्रभावकारी ढंगबाट व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिए। साथै, नगरपालिकाभित्र रहेका सबै पशुपालक कृषकलाई अनुदान कार्यक्रमको पहुँचमा ल्याउन थप नयाँ योजना र कार्यक्रमका साथ अघि बढिरहेको उनको भनाई छ।
नगरपालिकाको अनुदान कार्यक्रमबाट आफूहरू पनि लाभान्वित भएको खीमा केसी बताउँछिन्। ’प्रति लिटर दूधमा पाइने अनुदानले हामीलाई केही राहत पुगेको छ। यस्ता कार्यक्रमले पशुपालक किसानलाई थप हौसला मिलेको छ,’ उनले भनिन्।
ट्राफिक प्रहरी सेवासँगै भैंसीपालनलाई निरन्तरता दिइरहेको केसी दम्पतीको यात्रा मेहनत, पारिवारिक सहकार्य र आत्मविश्वासको उदाहरण बनेको छ। स्थानीय सरकारको प्रोत्साहन र किसानको लगन जोडिँदा गाउँमै व्यावसायिक पशुपालनबाट सम्मानजनक आम्दानी गर्न सकिने सम्भावना देखिएको छ।