बुटवल : मोरङ्गका पूर्व प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले हतार गरेर शवलाई नगाड्न सार्वजनिक अपिल गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कोभिडको बेला आफू मोरङ्गको प्रमुख जिल्ला अधिकारी हुँदा यस्तै अवस्था भोगेको र त्यसको उचित समाधान खोजेको उल्लेख गरेका छन् ।
उनको भनाई जस्ताको त्यस्तै :
हतार गरेर चितवनमा लास गाडेको समाचार सुनेपछि एउटा फोकटको सल्लाह दिन मन लाग्यो । हुनसक्छ म धेरै गाली खाउला । कोभिडको बेला थियो । म मोरङ्गको प्रमुख जिल्ला अधिकारी थिए । कोभिडले मानिसहरुको ज्यान लिन शुरु गरिसकेको थियो । त्यसबेला कोभिड लागेर ज्यान जानु कति भयावह थियो भनी साध्य नै छैन । मरेको लास छुनु त पर जावस देख्नु पनि नहुने !! अस्पताल पुगेको मानिस कसरी मर्छ, अनि कसरी सदगत् गरिन्छ ? केही थाहा नहुने । कडा प्रोटोकलसहित जङ्गलमा गाड्नु पर्ने । एकातिर आफन्तलाई मर्यो भन्ने विश्वास गर्नसम्म गार्हो थियो, अर्कोतिर प्रशासनलाई प्रोटोकल बमोजिम सबै जुटाउन त्यत्तिकै सकस थियो । करिब १५ वटा जति लास यसै गरी व्यवस्थापन गरियो ।
यही वीचमा नेपाल विद्युत प्राधिकरणमा कार्यरत एकजना कर्मचारी बित्नु भयो । उहाँको सद्गत पनि त्यही प्रोटोकल बमोजिम गरिएको थियो । कर्मचारी भएकोले उहाँको आफन्तलाई भेट्न सुरक्षा निकायका प्रमुखसहित म पनि पुगें । उहाँको बुबाले सुनाएको “मेरो छोरो कोभिड लक्षण देखिएर हिड्दै अस्पताल पुगेको थियो । मर्यो कि मारियो, कसले भनिदिने ? उसको अनुहार मात्रै देख्न पाएको भए, हामी बितेछ भनेर चित्त बुझाउथ्यौ । जन्मे पछि मर्छौ भन्ने थाहा सबैलाई छ । बिचराले रोग जित्न सकेन मरेछ भन्थ्यौ ।
हाम्रो संस्कार अनुसार सके, मिले दागबत्ती दिन्थ्यौ नमिले परबाट माला चढाएर भए पनि अन्तिम अनुहार हेथ्र्यौ “ भनेको पीडा, दुखेसो साँच्चै नै हृदयविदारक थियो । यो उहाँको मात्रै पीडा वा वेदना थिएन, सैंयौं आफन्त गुमाउनेहरुको सामूहिक आवाज थियो । उहाँको पीडादायी दुखेसो पछि म आफैले आफैलाई प्रश्न गरे, के म आफन्त गुमाउने मानिसका लागि यति काम पनि गर्न सक्दिन ? हामीले अवलम्बन गरेको यो अन्तिम संस्कार मानवीय संवेदनशीलताको हिसाबले कति सही छ ? प्रोटोकलका नाममा हामीले गरेको कामले हामीले मृतकप्रति सम्मान गर्न सकेउ ? के साँच्चै मानवीय संवेदना नजीक छ ? म भोलि यसै गरी मरे भने मेरो आफन्तले मेरो अनुहार पनि देख्न नपाउने हो ? त्यतिबेलासम्म मृत लासबाट कोभिड सर्छ कि सर्दैन ? कसैले भन्न सकेको पनि थिएन ।
त्यहाँबाट फर्केपछि सुरक्षा निकायको बैठक बस्यौं । कोभिडबाट मृत्यु हुनेको अन्तिम संस्कारको जिम्मा नेपाली सेनाको थियो । सुरक्षा समितिबाट एउटा निर्णय गर्यौ । “घाटमा बनाएको चितासम्म नेपाली सेनाले पुर्याउने र चितामा राखीदिने । चितालाई नछोइकन परबाट आफन्तले फुलमाला राख्न सक्ने र आगो लगाउन सक्ने” निर्णय गरेका थियौ । त्यसपछि कोभिडबाट मृत्यु भएका सबैको अन्तिम संस्कार त्यही अनुसार भयो । कोभिडबाट मृत्यु हुनेको दाहसंस्कार यसरी गर्न दिने निर्णय मोरङ्गले सबै भन्दा पहिले गरेको थियो ।
कोभिड सकिने बेलासम्म सुनसरीका धेरै घाटमा यसरी जलाउन समेत दिइएन तर मोरङ्गमा सहज भएकोले धरानमा बितेकालाई सम्म मोरङ्गमा ल्याएर दाहसंस्कार गरिएको थियो । मानिसको मृत्युको भरपाई त कसले गर्न सक्छ र? तर पनि यसले हामीलाई गुमनाम रुपमा अन्तिम संस्कार गर्नु पर्ने झन्झट र बाध्यताबाट सहज बनायो भने आफन्तले अनुहारसमेत नदेखी आफ्ना आफन्त गुमाउदाको पीडालाई अलिकति भए पनि कम गर्यो ।
मृत्यु संस्कार आफैमा मानवीय संवेदना र संस्कारसँग जोडिन्छ । यसलाई यति हतार गरेर नगाडौ । लासको सम्मानपूर्वक सदगत गराउन केही समय धैर्य गरौ । यति ठूलो विपद् एकैपटक नभोगेकोले हाम्रा प्रयास कम देखिन सक्छन् । अलि व्यवस्थापन गरौं । आफन्त नभेटिए ६÷७ महिना पछि जे गर्नु पर्छ, गरौला । मृतक वा परिवार गुमाएका, हराएका आफन्तले रसुवादेखि गण्डक ब्यारेजसम्म आफन्तको सास वा लास खोज्छन् ।
सबैले आफ्नो धर्म, परम्परा, रीतिरिवाज र संस्कार अनुसार अन्तिम संस्कार गर्छन् र गर्न पाउनु पर्छ । त्यहाँ नेपालीमात्रै छैनन्, विदेशी पनि छन् । उनीहरुका परिवारसमेत खोजतलास गर्दै आइपुग्नु हुन्छ । परिवार नआउदा उक्त नागरिकको राज्यले खोज्छ । जो भए पनि तिनको आत्माको चीरशान्तिको कामना गरौं । कृपया संवेदनशील बनौं । चाहिने प्लास्टिक वा ठूला फ्रिजको व्यवस्था गरौं । लासलाई अन्याय नगरौं र आफन्तको भावनामा कुठाराधात पनि नगरौं ।
यति कुरा भन्न मन लाग्यो र भने ।