कर्मचारीको स्थायी पदपूर्ति प्रक्रिया कुन अवस्थामा छ ?
प्रकोप र लकडाउन सुरु भएपछि लोकसेवा आयोगका कर्मचारी स्थायी पदपूर्तिका सबै प्रक्रिया स्थगित भएका छन् । नयाँ माग भएका पदका लागि पनि विज्ञापन रोकिएको छ ।
सबै सरकारी सेवामा नयाँ भर्ना रोक्ने सरकारको निर्णयले कस्तो असर गर्छ ?
सरकारले कानुनसम्मत गरेको अनुरोधलाई लोकसेवाले सम्मान गर्छ । एउटा चरणको परीक्षा भइसकेको पदपूर्ति प्रक्रिया रद्द गर्न या रोक्न कानुनत: मिल्दैन । करिब १५ सय पदका लागि एक चरणको परीक्षा भइसकेको छ । त्यसमा स्थिति सहज हुनासाथ प्रक्रिया पूरा गरेर हामी नियुक्तिका लागि सिफारिस गर्छौं । विभिन्न निकायबाट माग भएर आएका तर विज्ञापन हुन बाँकी, विज्ञापनमात्र भएका, दरखास्त मात्र लिएका तर कुनै चरणको परीक्षा सुरु नभएका सबै पदपूर्तिको प्रक्रिया भने रोक्न या रद्द गर्न मिल्छ, त्यो निर्णय लोकसेवा आयोगले गर्ने हो, सरकारले भनेर मात्रै हुँदैन । लोकसेवाको बैठक बस्दै छ, उपयुक्त निर्णय गर्छ । कोभिड–१९ का कारण जटिल स्थिति उत्पन्न भई मुलुक आर्थिक संकटमा परेका बेला सरकारी सेवामा पदपूर्तिको प्रक्रिया स्थगन हुनु र रोकिनुलाई स्वाभाविक र सामान्य रूपमा लिनुपर्छ । स्थिति सहज हुनासाथ सबै सरकारी सेवामा पदपूर्ति प्रक्रिया अघि बढ्छ ।
पदपूर्ति प्रक्रिया रोकिंदा सेवा प्रवेशको उत्तराद्र्धमा रहेका त उमेरका कारण सरकारी जागिरमा जान वञ्चित हुने भए नि ?
दरखास्त दिइसकेका व्यक्तिले पछि प्रक्रिया सुरु हुँदा सेवा प्रवेश गर्ने उमेर कटे पनि परीक्षा दिन र सरकारी जागिरमा जान पाउँछन् । तर प्रक्रिया रद्द भयो र पुन: दरखास्त दिँदा सेवा प्रवेशको उमेर कट्यो भने उनीहरू पदपूर्ति प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।