झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका वडा नम्वर ५ स्थित ओखरकोट हिरापोखरीमा चोयाचित्रा उद्योग स्थापना हुने भएको छ । ओखरकोट चोयाचित्रा उद्योग स्थापना कार्यक्रम अन्तर्गत झिमरुक गाउँपालिकाको लगानीमा उद्योग स्थापनाका लागि भवन निर्माणको काम थालिएको हो ।
निर्माण हुन थालेको भवनका गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले डोको बुनेर शिलन्यास गरे । शिलन्यास कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शुवास रिजाल, वडा अध्यक्ष दधिराम पोखरेल लगायत उपस्थित थिए ।

खेर गइरहेको चोयाचित्रालाई उद्योगको रुपमा स्थापना गरी व्यवसायिक उद्यमी सृजना गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गर्न लागिएको ओखरकोट चोयाचित्रा उद्योग स्थापना कार्यक्रमका अध्यक्ष प्रदिप जिसीले जानकारी दिए ।
घरमै परम्परागत रूपमा गरिदै आएको चोयाचित्राको कामलाई थप परिस्कृत गरी सिप प्रदान गरेर गाउँमा सामुहिक रुपमा उद्योग संचालनको लक्ष्य रहेको समेत जिसीले बताए । उक्त उद्योगबाट पहिलो चरणमा कम्तीमा १५ देखि २५ जना वेरोजगार व्यक्तिहरुलाई रोजगारी दिने लक्ष्य कार्यक्रमको छ । कार्यक्रम संचालनका लागि लुम्विनी प्रदेश सरकारले आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।