प्यूठान : प्यूठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले प्यूठान र रोल्पाको सीमाना निरीक्षण तथा अनुगमन गरेकी छन् । प्यूठान र रोल्पाको सिमानामा पर्ने स्वर्गद्वारी नगरपालिकाको वडा नं ६ देउराली पुगी त्यहाँको वस्तु स्थितिबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी गराईन् । ‘यहाँको ग्रामीण सडक, शान्ति सुरक्षाबारे जानकारी लिएका छौं’, आचार्यले भनिन्, ‘प्यूठानसँग जोडिएका सबै सिमानाहरुमा पुग्ने योजना छ ।’
जिल्ला स्थित सुरक्षा निकायका प्रमुख सहित प्रमुख जिल्ला अधिकारी आचार्यले सिमा सुरक्षाको निरीक्षण, ग्रामीण बस्तीका सडक, यातायातको अवस्था, शान्ति सुरक्षा, महिला हिँसा, बाल विवाहको अवस्थाबारे जानकारी लिएको जिल्ला प्रशासन कार्यालय प्यूठानका सूचना अधिकारी जालन्धर भुसालले जानकारी गराए ।
प्यूठान नगरपालिका वडा नं ५ मा बालविवाहका घटनाहरू दिनानुदिन बढ्दै गएको गुनासो सुनिएसंगै त्यहाँको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताईन् । ‘बाल विवाह तथा महिला हिंसा रोक्न विशेष एजेन्डा बनाएर अघि बढ्छौं’, आचार्यले भनिन् ।