प्यूठान : नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई सहज ढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न वर्तमान ऐन कानुन परिमार्जन गर्नुपर्ने आवश्यक भएको बताएका छन् ।
मंगलबार प्यूठान सदरमुकाम खलंगामा निर्माण व्यवसायी संघ प्यूठानको १२ औं साधारणसभा तथा छैठौं अधिवेशनको उद्घाटन गर्दै सिंहले भने, ‘सार्वजनिक खरीद ऐन परिमार्जन गरिनुपर्छ ।’ निर्माण क्षेत्रमा देखा परेको समस्या राजनैतिक तहबाटै निराकरण हुनुपर्नेमा उनले जोड दिए । विदेशी निर्माण कम्पनीले समेत नेपालमा विकास निर्माणका कामहरु गर्न सहज वातावरण नरहेको सुनाउने गरेको उनको बताए । परस्पर रूपमा बाझिने कानुनी व्यवस्था तथा अड्चनले समयमै निर्माण व्यवसायीले काम गर्न नसकिरहेको उनको भनाई छ ।
‘विकास निर्माणका कामहरु की त सेटिङमा गर्नुपर्ने वाध्यता छ, कि त एकदम कम रेटमा’,सिंहले भने, ‘सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा ८ को व्यवस्था खारेज हुनुपर्छ ।’ वर्तमान उद्योग मन्त्रीले सिमेन्टको अस्वभाविक मूल्यबृद्धिलाई समर्थन गरेको उनले आरोप पनि लगाए । उनले राजनैतिक नेतृत्वलाई कानुन संशोधनमा सहयोग पुर्याइदिन आह्वान समेत गरे ।
समस्या समाधानका लागि वर्तमान सरकारले पूर्व अर्थमन्त्री तथा अर्थविद् डाक्टर युवराज खतिवडालाई जिम्मा दिएको उनले सुनाए । ‘हामी निरन्तर उहाँसँग छलफलमा छौं । आशा छ समस्या समाधानमा सफलता हासिल हुने विश्वास लिएका छौं ।’ नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष नविन कुमार श्रेष्ठ तथा उपाध्यक्ष शोभाराम न्यौपानेको नाम चर्चामा छ ।