बुटवल : लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले दुग्ध क्षेत्रमा देखिएका उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि आफू जहिल्यै तयार रहेको प्रतिवद्धता जनाएका छन् । सोमवार बुटवलमा आयोजित नेपाल डेरी एशोसिएसनको २६ औं बार्षिक साधारणसभालाई सम्वोधन गर्दै मन्त्री पन्थीले ऐन संसोधन गरेर भएपनि व्यवसायीहरुका जायज मागहरु पुरा गर्ने उनले बताएका हुन् ।
डेरी उद्योगमा आवद्ध भएका देशभरका व्यवासायीहरुको सहभागीतामा बुटवलमा केन्द्रीय साधारण सभा गरिएको हो । लुम्बिनी प्रदेश विस्तारै दुध र दुग्धजन्य बस्तुमा आत्भर्निर बन्दै गएको अवस्थामा प्रदेश सरकारले किसान, व्यवसायीहरुको सँधै साथमा रहेको भन्दै मन्त्री पन्थीले जस्तोसुकै समस्या समाधानको लागि पनि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको सुनाए । उनले कृषिको व्यवसायीकरण र उचित बजारीकरण बीना समाजमा आर्थिक समृद्धी ल्याउन नसकिने समेत उल्लेख गरे ।
दुध र दुग्धजन्य बस्तुको उत्पादन बढ्दै जाँदा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको पेयपद्धार्थ उपभोग गर्ने उपभोक्ताहरुको समेत कमी आउने भएकाले स्वदेशी उत्पादनको उपभोगमा जोड दिन उनले सुझाए ।
नेपाल डेरी एशोसीयसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले सरकारले स्वदेशी उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे ।