झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिकामा राष्ट्रिय जनेमार्चाका शुवास जिसीले बागी उमेदवार दिएका छन् । राजमो र नेपाली कांग्रेसको यहाँ गठवन्धन भएको छ । गठवन्धनबाट गाउँपालिका अध्यक्षमा राजमोका नेता एवं झिमरुक गाउँपालिका वडा नम्वर ५ का निवर्तमान वडा अध्यक्ष टिका जिसीलाई पार्टीले आधिकारिक उमेदवार बनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालय झिमरुक गाउँपालिकाले दुई जना स्वतन्त्र सहित गाउँपालिका अध्यक्षमा सात जनाको नामावली मंगलवार प्रकाशन गरेको छ । पार्टीले टिकट नदिएपछि बागी उमेदवार बनेका जिसी राजमोको विद्यार्थी संगठन अखिल छैठौँका केन्द्रिय महासचिव समेत हुन् । ३१ वर्षिय जिसी झिमरुक ३ निवासी हुन् । उमेदवारी किन ? भन्ने विषयमा बुझ्न खोज्दा उनले प्रतिक्रिया दिन मानेनन् । ‘भो अहिले नलेखम’,उनले भने,‘माहोल बिग्रन सक्छ ।’
निर्वाचन अधिकृतको कार्यालय झिमरुक गाउँपालिकाले मंगलवार प्रकाशन गरेको नामावली ।
तर, उनै जिसी दुई दलिय गठवन्धनको चुनावी प्रचार प्रसार समितिको संयोजक बनेका छन् । उनको दोहोरो भूमिकाले नेता, कार्यकर्ताहरु अन्यौलमा परेका छन् । नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुले दुईपार्टी मिलेर जाँदा समेत राजमोकै जिम्मेवार व्यक्तिहरुबाट बागी उमेदवारी पर्नुले विश्वासमा शंका उब्जाएको प्रतिक्रिया दिए । नेपाली कांग्रेसबाट पनि झिमरुक ४ बांगेमरोठका ६९ वर्षिय डेगेन्द्र विक्रम सिँहले बागी उमेदवारी दिएका छन् ।
सत्ता गठवन्धनका तीन दलमध्ये नेकपा माओवादीले एकल उमेदवारी दर्ता गराएको छ । पटक पटक सम्झौता गर्दै ताड्दै गरेका सत्ता गठवन्धनका तीन दलमध्ये राजमो र कांग्रेसले अन्तिम विन्दुमा मिलेर जाने सहमती गरेका हुन् । अध्यक्षमा गठवन्धनबाट राजमोका टिका जिसी र उपाध्यक्षमा कांग्रेसका प्रमोद पोख्रेल उमेदवार बनेका छन् । लोकतन्त्रमा जो कोही पनि नेतृत्वमा आउने चाहना राख्नु स्वभाविक भएको कांग्रेसका नेता एवं गाउँपालिका उपाध्यक्षका उमेदवार प्रमोद पोखरेलले प्रतिक्रिया दिए ।