गुल्मी : सुरक्षित महिनावारी राष्ट्रिय अभियान संचालन गरी शिक्षामा छात्राहरुको सहभागीता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अभियन्ता गंगा खड्का सम्मानित भएकी छन् । एकीकृत ग्रामीण विकास समाज गुल्मीको बुधवार सदरमुकाम तम्घासमा अयोजित २६ औँ वार्षिक साधारण सभाको अवसरमा सम्मानपत्र र दोसल्ला ओडाएर सम्मानित गरेको हो ।

सामाजिक रुपान्तरण, विद्यालयमा सुरक्षित महिनावारी र स्वच्छता सम्वन्धी अभियान संचालन गरी सरकारलाई निःशुल्क सेनेटरी प्याड वितरणका लागि समेत अभियान मार्फत पहल गरेको मूल्यांकन गर्दै सम्मानित गरिएको समाजका अध्यक्ष हिरा एसीले बताएका छन् । समाजिक विकृति उन्मुलनको क्षेत्रमा खड्काले जिल्लामा खेलेको भूमिका महत्वपूर्ण रहेको देखिएको अध्यक्ष एसीले बताए । शुरुवाती चरणमा विभिन्न चुनौती झेल्दै समाज परिवर्तनका क्षेत्रमा खड्काको निरन्तरताको अभियानले सार्थकता पाउँदा सिंगो गुल्मीलाई नै गौरवान्वित बनाएको एसीले सुनाए ।
मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाको प्रमुख आतिथ्यता र रेसुंगा नगरपालिका उपप्रमुख सिता भण्डारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । खड्कासँगै समाजले तम्घास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पाच्याँ र जिल्ला अस्पतालका मेडिकल अधिकृत काशिराम विश्वकर्मालाई समेत सम्मानित गरेको छ ।
सामाजिक रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण योगदान दिने नागरिक समाजका अगुवाहरुलाई संस्थाले वार्षिक रुपमा सम्मानित गर्दै आइरहेको छ । खड्काले विगत आठ वर्षदेखि गुल्मी सहित वैतडी, सुर्खेत र पाल्पाका विद्यालयहरुका छात्राहरुमा सुरक्षित महिनावारी र स्वच्छता सम्वन्धी अभियान संचालन गर्दैै आइरहेकी छिन् ।
नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयले २०७५ सालमा यसै अभियान मार्फत समाजका पु्याएको योगदानको मूल्यांकन गर्दै प्रतिस्पर्धाको आधारमा नगद एक लाख राशी सहित सम्मानित गरिसकेको छ । यो सँगै महिनावारी व्यवस्थापन सञ्जाल काठमाण्डौँ र गुल्मीका दर्जनौ सामाजिक संघ संस्था र स्थानीय तहहरुले समेत खड्कालाई सम्मानित गरेका छन् ।