झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका वडा नम्बर ६ मा वडा स्तरीय खुल्ला भलिवल प्रतियोगिता शुरु भएको छ । बुधवारदेखि प्रतियोगिता शुरु भएको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले खेलको माध्यमबाट देशलाई चिनाउन खेलाडीहरुको अहम भूमिका हुने भन्दै अनुशाशित भएर खेल क्षेत्रमा लाग्न आग्रह गरे । झिमरुकमा खेल क्षेत्रको चौतर्फी बिकास र खेलाडी उत्पादन गर्न पालिकाले योजना बनाएर अगाडि बढ्ने उनको भनाई छ । स्वास्थ्यका दृष्टिकोणले पनि खेल क्षेत्र मानवीय जीवनमा अपरिहार्य रहेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले सुनाए । प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, द्वितीय १० हजार, तृतिय ८ हजार र सान्त्वना पुरस्कार ५ हजार राखिएको छ । आठ समूह प्रतिस्पर्धामा छन् ।