प्यूठान : २०८० असार ९ गते प्यूठान नगरपालिका–४ हल्लीखोलाका १३ वर्षीय अभिषेख नेपालीलाई सर्पले डस्यो । बेलुकापख घाँस काट्न गएका नेपालीलाई पौने ६ बजे सर्पले डसेपछि उनलाई ठूलोबुवाले १० मिनेटभित्रै अस्पताल पुर्याएका थिए ।
अस्पतालमा रहेकी ड्युटी अफिसर डाक्टर प्रतिक्षा मिश्रले अभिषेखलाई चेकजाँच गरिन् । अस्पतालमै रहेका कन्सलटेन्ट फिजिसियन डाक्टर रामचन्द्र सहितको चिकित्सक टोलीले उनको जिल्ला अस्पतालमा उपचार संभव हुन नसक्ने र दाङको लमही लैजानका लागि रिफर गरेको विरामीकी आमा शिला नेपालीले बताइन् ।
चिकित्सकहरुले तालिम नभएको र थप उपचारका लागि भेन्टिलेटर पनि नभएको बताउँदै नेपालीलाई रिफर गरेको उनले सुनाईन् । विषालु सर्पले टोकेको नेपालीलाई लमही पुर्याउँदा पु¥याउँदै उनको स्वास्थ्य अवस्था नाजुक भइसकेको थियो ।
लमहिमा ‘एन्टी स्नेक भेनम’ त दिइयो तर धेरै ढिलो भइसकेको थियो । त्यहाँबाट पनि थप उपचारका लागि नेपालगञ्ज लग्न भनियो । नेपालगन्ज त पुर्याइयो तर बचाउन सकिएन । ‘प्यूठानमै एन्टी स्नेक दिन पाएको भए छोरा बाँच्न सक्थ्यो होला’,नेपालीकी आमा शिलाले भनिन्, ‘अकालमै छोराको ज्यान गयो ।’ सर्पले डस्ने बितिकै जिल्लामै एन्टी स्नेक भेनम दिएको भए छोरा बाँच्न सक्ने भनेर नेपालगन्जमा चिकित्सकले सुनाएको उनले सम्झिन् ।
सर्पले डस्ने बित्तिकै ‘एन्टी स्नेक भेनम’ लगाएर बिरामीको उपचार शुरु गर्न नसक्नु दुर्भाग्य भएको भेरी अस्पताल नेपालगन्ज बाँकेका सर्प दम्सरोग विशेषज्ञ डा.कृष्ण आचार्यले प्रतिक्रिया दिए । नेपालीको उपचारमा अस्पतालमा ‘एन्टी स्नेक भेनम’ हुँदाहुँदै पनि
प्रारम्भिक उपचारको पहिलो चरणमा किन ड्युटी अफिसरहरुले लापरबाही गरे त ? यसप्रति नागरिकले प्रश्न गर्न थालेका छन् ।
‘सर्पले टोकेको १० मिनेट भित्रै हामीले बच्चालाई अस्पताल पुर्याएका थियौँ । बच्चा आफै हिँडेरै गएको हो । अस्पतालमा डाक्टरले हेर्नुभयो, अनि फोटो खिचेर कता कता पठाउनु भयो, आपसमा फोन गर्नुभयो, अनि बच्चालाई कोब्राले टोकेको हो छिट्टै ठाउँमा पुर्याउनु पर्छ भनि उहाँहरूले सलाईन र अक्सिजन व्यवस्था गरी हामीलाई पठाउनु भएको हो ।’, नेपालीका ठूलोबुवा गोविन्द नेपालीले प्रतिक्रिया दिए ।
सोमवार प्यूठान नगरपालिका–१ खैरामा सोमबार बिहान ४ बजेको समयमा सुतिरहेका एकै घरका दिदी भाईलाई सर्पले डस्यो । १५ वर्षीय करिना बस्नेत र १० वर्षीय करण बस्नेतलाई सर्पले डसेपछि उनीहरूलाई प्यूठान अस्पतालमा एन्टी स्नेक भेनम दिएर उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ ।
अहिले भाइ करणको भेन्टिलेटरमा राखेर उपचार गरिएको र दिदि करिनाको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको प्यूठान अस्पतालका आकस्मिक कक्षका इन्चार्ज माधव राउतले जानकारी दिए । प्यूठान अस्पतालका डा.सुवोध विडारी सहितको स्वास्थ्यकर्मी टोलीले विरामीलाई नेपालगञ्ज लगेका थिए ।
उही प्रकृतिको विरामीको उपचार यसअघि संभव नहुने र अहिले संभव हुनुले अस्पतालप्रति नागरिकहरुको आशंका बढेको छ । विरामीको उपचारमा काखा र पाखा त गरिएन् भन्नेमा नागरिकहरु त्रसित बनेका छन् ।
त्यसबेला विरामीहरुकै आफन्तहरूले भेन्टिलेटर भएको ठाउँमा उपचार गराउन लैजान्छौ भनेपछि चिकित्सकहरुले बिरामीको अवस्था र अस्पताल पुग्न लाग्ने समयको निर्धारण गरेर रिफर गरेको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले प्रतिक्रिया दिइन् ।