प्यूठान : पर्याप्त स्रोतसाधन छैन् । दरवन्दी अनुसार शिक्षकहरु पनि कम छन् । विद्यालय शहरमा पनि छैन् । तर, गाउँको विद्यालयले सिंगो प्यूठानको सानहुने गरी नतिजा निकालेको छ । यस अघिको माध्यमिक शिक्षा परीक्षा (एसईई) २४ जना विद्यार्थीमध्ये २३ जना विद्यार्थी उत्र्तिण गराएर जिल्ला प्रथम भएको झिमरुक गाउँपालिका–२ गडेरपानी प्यूठानको सर्वोदय मावी अहिले सर्वत्र चर्चाको विद्यालय बनेको छ ।
यो विद्यालय यसवर्षको माध्यमिक तहको नतिजामा गाउँपालिकाको त सानै बनेर उभिएको छ । पालिकाले गर्व गर्न लायक विद्यालयको रुपमा सवैले सर्वोदयलाई उदाहरण दिइरहेका छन् । २०८१ सालमा लिइएको कक्षा १२ को नतिजामा पनि सर्वोदयले गाउँपालिकाभरी उत्कृष्ट नतिजा ल्याउनेमा पहिलो भयो । प्यूठानभरी दोस्रो बन्यो । कक्षा १२ को परीक्षामा सहभागी २१ जना मध्ये २० जना विद्यार्थी उत्र्तिण भए । छात्र विपिन थापाले ३ दशमलव ४६ र छात्रातर्फ कल्पना महतरा क्षेत्रीले ३ दशमलव ४५ जीपिए ल्याएको प्रधानाध्यापक एमसीले जानकारी दिए ।

जिल्ला प्रथम हुने विद्यालय प्यूठान नगरपालिका २ स्थित जानकी मावी चितिखोलाले सात जना मध्ये सातै जना विद्यार्थी उत्र्तिण गराएको छ । सर्वोदयले कक्षा १२ मा ९५ दशमलव २४ प्रतिशत विद्यार्थी उत्र्तिण गराएर सिंगो झिमरुकको पहिचान बनाएको छ । उत्र्तिण भएका २० जनामध्ये दश जना छात्र र दश जना छात्रा छन् ।
‘एसईईको नतिजामा २४ जनामध्ये २३ जना विद्यार्थी उत्र्तिण भएर जिल्ला प्रथम भएका थियौँं’,विद्यालयका प्रधानाध्यापक लाल बहादुर एमसीले भने,‘१२ कक्षाको नतिजा पनि राम्रो आएको छ । एक जना छात्रालाई अंग्रेजी विषय लागेर शतप्रतिशत विद्यार्थी उत्र्तिण गराउन सकेनौं ।’ एमसीले सिमित स्रोतसाधनको बीचमा पनि जिल्लाभरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे ।
‘शिक्षकहरुको मात्र एक्लो प्रयासले नतिजा राम्रो हुनसक्दैन्’,एमसीले भने,‘शिक्षक, विद्यार्थी, अभिभावक र सिंगो गाउँपालिकाको साथ रहयो ।’ उनले विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि शिक्षक व्यवस्थापनमा गाउँपालिकाले गरेको सहयोगले पछिल्ला वर्षहरुमा विद्यालय संचालन गर्न सहज मिलेको प्रतिक्रिया दिए । ‘गाउँपालिकाले पछिल्ला वर्षहरुमा शिक्षा क्षेत्रमा गरेको लगानी प्रशंसनीय छ’,एमसीले भने,‘दरवन्दी अनुसार पुरा शिक्षक भएमा अझ नतिजा उत्कृष्ट बनाउन सकिन्थ्यो ।’
सर्वोदयले विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र नभई विभिन्न क्षेत्रमा अतिरिक्त क्रियाकलापहरुमा समेत जोड दिने गरेको छ । सामाजिक सञ्जालमा ‘भाइरल शिक्षक’ भनेर चिनिने रमेश थापाले पनि यही विद्यालयमा पढाउँछन् । यस विद्यालयमा शिक्षक, कर्मचारी गरी १८ जना कार्यरत छन् । कक्षा १२ सम्मको पढाई संचालन गर्नका लागि कम्तीमा पनि २५ जना शिक्षक, कर्मचारी हुनुपर्ने एमसीले सुनाए । कक्षा ८ को पालिका स्तरको नतिजामा पनि सर्वोदय निरन्तर तीन वर्ष दोस्रो स्थानमा आएको थियो ।
‘झिमरुकको शैक्षिक प्रतिष्ठा उचो भएको छ’
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सर्वोेदय मावीको नतिजाले सिंगो गाउँपालिकाको शैक्षिक प्रतिष्ठा उचो बनाएको प्रतिक्रिया दिएका छन् । उनले विद्यालय परिवारलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक सत्रहरूमा पनि अझ उत्कृष्ट नतिजा ल्याउनका लागि सवै विद्यालयहरुले मेहनत गर्न सुझाव दिए ।

‘पालिकाको शैक्षिक गुणस्तर सुधार हुनुमा सवैको साथ छ’,एमसीले भने,‘स्थानीय सरकार, शिक्षक, अभिभावक, बिद्यालय व्यवस्थापन समितिको अथक मेहनत र विद्यार्थीको परिश्रमले यो सफलता सम्भव भएको हो ।’ उनले पछिल्ला वर्षहरुमा सिंगो गाउँपालिकामा शैक्षिक सुधार सुधार हुँदै गएको समेत दावी गरे । उनले यो महत्वपूर्ण उपलव्धी ल्याउन योगदान गर्ने सम्पूर्ण विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा युवा तथा खेलकुद शाखा, शिक्षा समिति, कर्मचारी र जनप्रतिनिधिलाई धन्यवाद समेत दिए ।
‘पालिकाको नीति शिक्षा सुधार्नु हो’
झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखे्रेलले पालिकाको नीति नै शिक्षामा सुधार ल्याउनु रहेको बताएका छन् । ‘कोही पनि पालिकाका विद्यार्थीहरु शिक्षाबाट बञ्चित हुन् नपरोस् भनेर क्याम्पसमा समेत निःशुल्क शिक्षा दिएका छौं’,उनले भने,‘चालु आर्थिक वर्षमा शिक्षामा मात्र २६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौं ।’
उनले उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विषयगत शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकहरुलाई वार्षिक रुपमा सम्मानित गर्ने गरिएको समेत जानकारी दिए । गत आर्थिक वर्षमा मात्रै पुरस्कृत गर्ने कार्यक्रममा गाउँपालिकाले १६ लाख रुपैयाँ लगानी गरेको उनले बताए ।
गाउँपालिकाको केन्द्र मच्छि बजारमा एकमात्र गौमुखी क्याम्पस छ । सोही क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पालिकाको अनुदानमा क्याम्पसले निःशुल्क पढाउने गरेको पोख्रेलले बताए । गाउँमै बसेर पनि स्नातक तहसम्मको पढाई विद्यार्थीहरुले निःशुल्क पढ्न सकुन भन्ने उद्देश्यले पालिकाले यस्तो कार्यक्रम ल्याएको पोख्रेलले जानकारी दिए ।
पालिकाले उत्कृष्ट नतिजा ल्याउने कुल १८ जना विद्यार्थी, २८ जना शिक्षक र २० वटा विद्यालयहरुलाई अघिल्लो आर्थिक वर्षको कार्यक्रम अन्तर्गत सम्मान गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवं प्राविधिक सहायक (शिक्षा) पुष्प रानाले जानकारी दिए । पुरस्कृत हुने विद्यालयमध्ये प्रावि तहका ५, आधारभूत तहका १३ र मावी तहका ४ वटा रहेको रानाले बताए । गाउँपालिकाभरी कुल ४६ वटा सामुदायिक विद्यालय छन् । कक्षा १२ को नतिजामा दोस्रो स्थान ल्याउनेमा बलभद्र मावी बाँदीकोट (६५.८५) र तेस्रो स्थानमा सत्य मावी तुषारा (६१.७६) रहेका छन् ।