झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका–३ कुटेडाँडास्थित बाल ज्योति नेरा आधारभूत विद्यालयको एउटा तस्विरले धेरैको मन तान्यो । आफ्नो १८ महिनाको बच्चासँगै कक्षाकोठामा बालबालिकालाई पढाइरहेकी एक शिक्षिकाको तस्विरले धेरैको मन तानेको हो ।
प्राथमिक तह तृतीय श्रेणीमा कार्यरत स्थायी शिक्षिका विजुला केसी दिनहुँ १८ महिनाको छोरालाई बोकेरै कक्षाकोठामा पढाउन पुग्छिन् । विद्यार्थीलाई पढाइरहँदा काखमा बच्चा सम्हाल्दै उनी अध्यापनमा व्यस्त देखिन्छिन् ।
केसीको घर झिमरुक–३ दारिमचौरमा पर्छ । उनका श्रीमान् पनि शिक्षण पेशामै छन् । उनी नेरा मावि झिमरुक–३ हिरापोखरीमा कार्यरत छन् । केसीकी ४ वर्षीय छोरी भने विद्यालयमै पढ्न जाने उमेरकी भइसकेकी छिन् ।
सानो बच्चालाई घरमा एक्लै छाड्न नमिल्ने भएकाले सँगै विद्यालय ल्याउनुपरेको केसी बताउँछिन् । ‘बच्चा सानो छ, घरमा सम्हाल्ने मान्छे छैन । त्यसैले सँगै लिएर आउँछु’,उनले भनिन्, ‘बच्चा भए पनि ड्युटी पूरा गर्नु आफ्नो जिम्मेवारी हो ।’
कक्षाकोठामा बच्चा सम्हाल्दै पढाइ गराइरहेको उनको दृश्यले स्थानीय र अभिभावकको ध्यान खिचेको छ । मातृत्व र पेशागत जिम्मेवारीलाई सँगै निभाइरहेकी केसीको समर्पणको स्थानीय स्तरमा प्रशंसा भइरहेको छ ।