बुटवल : प्राणघातक रोग क्यान्सरबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन सिकार हुँदै गएको भारतका क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रांजल कुलश्रेष्ठले बताएका छन् । तर, समयमै उपचार पाउन सके क्यान्सर निको हुने उनले सुनाए । ‘क्यान्सर लाग्यो भन्दा वित्तिकै सवैलाई लाग्छ अब यो रोग निको हुदैन्’,शनिवार बुटवलमा आयोजित संवाद कार्यक्रममा बोल्दै श्रेष्ठले भने,‘समयमै चेकजाँच गर्नुपर्छ र उपचार छिटो पाउन सके यो रोग निको हुन्छ ।’
सिएफसी हेल्थ सोलुसन प्रा.लि बुटवलले आयोजना गरेको स्वास्थ्य संवाद् कार्यक्रममा भारतको न्यू दिल्ली स्थित बिआइके माक्स हस्पिटलका निर्देशक समेत रहेका डा.श्रेष्ठले बुटवलका उद्यमी, व्यवसायी, सामाजिक अगुवा, महिला र विभिन्न संघ संस्थाका व्यक्तिहरुसंग अन्तरसंवाद कार्यक्रम गरेका थिए ।

बहुसंख्यक नागरिकहरुले आफूलाई क्यान्सर रोग लागेपछि उपचार गराउने नेपाल पछिको अर्को मुलुक भारत भएकाले यहाँका नागरिकहरुसंग संवाद् कार्यक्रम गरिएको सिएफसी हेल्थ सोलुसन प्रा.लि बुटवलका संचालक एलपी पाण्डेले जानकारी दिए ।
उनका अनुसार भारतका १३ वटा अस्पतालहरुसंगको सहकार्यमा नागरिकहरुको उपचारमा सहजीकरण गरिदै आएको छ । भारतको अपोलो अस्पताल, बीएलके म्याक्स सुपर स्पेशालिटी अस्पताल, म्याक्स सुपर स्पेशालिटी अस्पताल, मेदान्त अस्पताल, एमजीएम हेल्थ केयर, मणिपाल, फोर्टिस अस्पताल समूह, आर्टेमिस, नारायण हेल्थ, यशोदा, किम्स, वेङ्कटेश्वर र यथार्थ अस्पतालको सहकार्यमा नेपालका नागरिकहरुको उपचारमा सहजीकरण गरिएको पाण्डेले बताए ।
क्यान्सरका विभिन्न रोगहरुमध्ये स्तन क्यान्सर महिलाहरुलाई मात्र नभई पुरुषहरुलाई पनि हुने गरेको पाइएको डा.श्रेष्ठले जानकारी दिए । स्तन क्यान्सर लाग्नेमध्ये एक प्रतिशत पुरुषलाई हुने गरेको उनको भनाई छ । अन्तर संवाद कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरुले आफूलाई लागेका जिज्ञासा राख्नुका साथै क्यान्सर रोग लागेपछिको समस्या, कारण र समाधानका उपायहरुका विषयमा बृहत छलफल भएको थियो । कार्यक्रमको सहजीकरण सिएफसी हेल्थ सोलुसन प्रा.लि बुटवलका संचालक एलपी पाण्डे र विष्णु पन्थले गरेका थिए ।