प्यूठान : जिल्लामा पहिलोपटक मृगौला रोगीका लागि डायलासिस सेवा सुरु हुने भएको छ । प्यूठान अस्पतालमा आगामी चैत्रको पहिलो हप्तादेखि सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
उक्त सेवा लायन्स क्लब अफ प्यूठानको मुख्य लगानी र पहलमा सुरुहुन लागेको हो । क्लबका अध्यक्ष नविन कुमार श्रेष्ठका अनुसार कुल १ करोड ७६ लाख रुपैयाँ लागतमा परियोजना सञ्चालन भईरहेको छ, जसमा ७५ प्रतिशत लगानी लायन्स क्लबले व्यहोरेको छ भने बाँकी २५ प्रतिशत रकम जिल्लाका ९ वटै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केही स्थानीय तहबाट रकम आउन बाँकी रहेको बताईएको छ ।
हालसम्म ५ वटा डायलासिस मेसिनसहित आवश्यक उपकरण व्यवस्थापन भइसकेको छ भने अस्पताल विकास समितिको पहलमा थप ३ वटा मेसिन जोडिएपछि कुल ८ वटा मेसिन तयारी अवस्थामा छन्। प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजयविराज विष्टका अनुसार लुम्बिनी प्रदेश सरकारमार्फत आवश्यक भौतिक पूर्वाधार तथा स्वास्थ्य उपकरणको व्यवस्था पनि सम्पन्न भइसकेको छ ।
जिल्लामा हाल नियमित डायलासिस आवश्यक पर्ने ८६ जना बिरामी रहेका छन्। सेवा अभावका कारण उनीहरू उपचारका लागि लमही, बुटवल, नेपालगञ्ज तथा काठमाण्डौंसम्म धाउन बाध्य भएका थिए ।
डायलासिस सेवा सुरु भएपछि छिमेकी रोल्पा, अर्घाखाँची र गुल्मी जिल्लाका बिरामीहरूले समेत लाभ लिन सक्ने प्यूठान नगरपालिकाका पूर्व नगरप्रमुख तथा लायन्सका सिनियर नेता अर्जुनकुमार कक्षपतिले विश्वास लिएका छन् ।
यस परियोजना सञ्चालनका लागि विभिन्न संघसंस्थाले समेत सहयोग गरेका छन्। प्यूठान उद्योग वाणिज्य संघले १ लाख रुपैयाँ, सुनिल स्मृति गाउँपालिका रोल्पाले १ लाख रुपैयाँ तथा होटल व्यवसायी संघ प्यूठानले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
सुरुवाती चरणमा ६ वटा मेसिन (१ आपतकालीन सहित) दैनिक २ सिफ्टमा सञ्चालन गर्ने र बाँकी २ वटा मेसिन ब्याकअपमा राख्ने योजना बनाइएको छ। सेवा प्रभावकारी बनाउन अस्पताल विकास समितिका अध्यक्ष विजय विराज बिष्ट नेतृत्वको टोलीले रामपुर अस्पताल र गुल्मी अस्पतालमा अध्ययन अवलोकनसमेत गरिसकेको छ ।
डायलासिस सेवा सुरु भएसँगै प्यूठानसहित आसपासका जिल्लाका मृगौला रोगीहरूले सहज र नजिकै उपचार पाउने अपेक्षा गरिएको छ ।