गुल्मी : गुल्मीमा भएको यात्रुबाहक बस दुर्घटनामा परी १६ जना घाइते भएका छन् । सोमवार बुटवलदेखि मालिका गाउँपालिका ५ अर्जै छापतर्फ जाँदै गरेको लु १ ख ७७७६ नम्वरको बस रेसुङ्गा नगरपालिका–४ स्थित छल्दीपनाहमा दुर्घटना भएको थियो ।
घाइते भएकामध्ये सहचालक ३१ वर्षिय दिपक पराजुलीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ । उनको खुट्टामा गहिरो चोट लागेको छ । अन्य १२ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए । तीन जना उपचार पछि डिस्चार्ज भएका छन् । बस सडकबाट पाँच मिटर तल खसेको छ । ओरोला र घुम्टीमा ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरु सवै गुल्मीको इस्मा गाउँपालिका ६ स्थित अमरपुरका स्थानीय हुन् । २१ वर्षिय नबिन महत, २२ वर्षिय रेशम भण्डारी, ७३ वर्षिय हरिकला कुमाल घाइते भएका छन् ।
त्यस्तै, ४३ वर्षिय राधिका बस्नेत, २२ वर्षिय कोपिला बस्नेत, १७ वर्षिय अनिल बस्नेत, ३३ वर्षिय सरिता कुमाल, ११ वर्षिय कृष्ण कुमाल, ३९ वर्षिय सन्त बहादुर कुमाल, ७८ वर्षिय चन्द्री कुमाल, ईश्वर कुमाल, ३३ वर्षिय सरिता मतह, १३ वर्षिय सचिन महत र मालिका गाउँपालिका ६ का ३५ वर्षिय लक्ष्मी बिष्ट घाइते भएका छन् ।