बुटवल : दशैँको मौकाछोपी बुटवलमा दिनहुँजसो घर तोडफोड गरी चोरी भइरहेको छ । दशैँ मनाउन जन्मगाउँ गएकाहरुको घरमा चोर पसेर तोडफोड गरेपछि नागरिकहरु त्रसित भएका छन् । तोडफोड गरेर घरभित्र भएका सुनका गरगहना, नगद, ल्यापटप र अन्य जिन्सी सामानहरु चोरी भएको पीडितहरुले बताएका छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित किमडाँडा पकलेमा दशैँको टिका लगाउन गएकी बुटवल उपमहानगरपालिका–१२ ढवाह निवासी रिता पौडेलको घरबाट ९ तोला सुन चोरी भएको छ । पौडेल सुत्ने कोठामा रहेको दराज फोरेर सुन चोरी भएको सतगढी टोल विकास संस्था ढवाहका अध्यक्ष योगेन्द्र छन्त्यालले जानकारी दिए । ‘हाम्रो टोलमा एकै दिन चारवटा घर तोडफोड गरेर चोरी भयो’,छन्त्यालले भने,‘एउटै चोरले चोरेको आशंका छ । तर, अहिलेसम्म चोरको पहिचान भएको छैन् ।’ पौडेलका श्रीमान् रोजगारका लागि पर्चुगलमा छन् ।

बुटवल उपमहानगरपालिका–१४ स्थित मोतीगञ्जका ५२ वर्षिय डिल्ली पोख्रेलको घर पनि तोडफोड गरेर सुनका गहना र नगद चोरी भएको छ । ‘टिका लगाउन सपरिवार जन्मघर पहाड गएका थियौँ’,पोख्रेलले भने,‘राम्रोसंग दशैँ मनाउन नपाउँदै घरमा चोरी भएको खवर आएपछि बुटवल फर्किए ।’ उनको पहाड घर अर्घाखाँचीको मालारानी गाउँपालिका–४ खनमा हो । घर तोडफोड गरी औँठी र तिलहरी गरी ढाई तोला सुन र बुवाले बाकसमा बचत गरेर राखेको दुई लाख ३५ हजार रुपैयाँ नगद चोरी भएको पोख्रेलले बताए ।

पोख्रेलकै घरको तल्लो तलामा फ्ल्याट भाडा लिएर बस्दै आएका पर्वतको पैँयु गाउँपालिका–१ का सन्तु भुसालको कोठाबाट पनि ४० हजार रुपैयाँ नगद चोरी भएको छ । पोख्रेलकी छिमेकी ज्ञानु गौतमको घरबाट पनि नगद ४० हजार रुपैयाँ घर तोडफोड गरेर चोरी भएको पीडित गौतमले गुनासो गरिन् ।
बुटवल १२ ढवाहकै मनु पाण्डेको घर तोडफोड गरेर १५ हजार नगद चोरी भएको टोलका अध्यक्ष छन्त्यालले जानकारी दिए । डेढ तलाको उनको घरको ढोकाको सवै चाबी फोरिएका छन् । दशैँको टिका लगाउन अर्घाखाँची गएका सोही ठाउँका स्थानीय टोपलाल भुसालको घरमा पनि तोडफोड भएको छ ।
ढवाहकै स्थानीय पंकज चुँदालीको घरमा तोडफोड भएको छ । नेपाल प्रहरीका प्रहरी निरीक्षक समेत रहेका चुँदालीको परिवार दशैँ मनाउन पहाड घर अर्घाखाँची सन्धिखर्क गएका थिए । उनी गोरुसिंगेस्थ्ति ट्राफिक प्रहरी कार्यालयमा ड्यटीमा भएको मौका छोपेर घर तोडफोड भएको छ ।

दिनहुँजसो भइरहेको चोरीका घटनाले समुदायमा त्रास फैलिएको राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष एवं बुटवल १९ नहरपुर मिलनटोल निवासी टान बहादुर केसीले बताए । ‘दिनहुँ चोरी भइरहने तर चोरको पहिचान हुन नसक्दा नागरिकमा एक खालको त्रास फैलिएको छ’,केसीले भने,‘चोरीका घटना भएको क्षेत्रमा प्रहरीले गस्ती बढाउनुपर्छ । रातभरी सार्वजनिक स्थलमा हल्ला गरेर बस्ने युवाहरुलाई प्रहरीले निगरानीमा राख्नुपर्छ ।’
चोरी भएका घर घरमै पुगेर घटनाको स्थलगत निरीक्षण गरिएको र चोरी गर्ने व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । बुटवलको नहरपुर, पत्थरगंज, मोतिगंज, ढवाह, नयाँगाउँ, देविनगर लगायत ठाउँमा चोरीका घटनाहरु भइरहेको प्रहरीले जनाएको छ ।