प्यूठान : आठ महिनादेखि रोकिएको जिल्ला अस्पताल प्यूठानको निर्माणाधीन पाँचतले भवनको काम पूनः सूचारु भएको छ । अस्पताल विकास समितिमा नयाँ अध्यक्ष कृष्ण प्रसाद बस्याल (रोयल कृष्ण) आएसँगै भवन निर्माणको कामले गति लिएको हो ।
‘कामसंगै भूक्तानीका लागि विश्वासको वातावारण बनाएपछि ठेकेदार पक्षले निर्माण कार्य पुनः सुरु गरेका हुन्’,नवनियूक्त अध्यक्ष बस्यालले भने,‘हामी अस्पताल परिवार तोकिएको समयसीमाभित्र भवन बनाउन लागिपरेका छौं, तोकिएकै समयमा बनाएरै छाड्ने हो ।’ निर्माण पक्षले असार मसान्तसम्म पहिलो तला ढलान गर्ने लक्ष्यसहित काम अघि बढाएको समेत उनले जानकारी दिए ।
भवन निर्माणको ढिलाईले अस्पतालको सेवा विस्तारमा असर पर्दै आएको छ । २०७८ मा स्वीकृत र २०८० चैत ७ गतेदेखि शुरु भएको यो परियोजनाको कुल लागत २१ करोड ३० लाख ५० हजार ७ सय ६८ रुपैयाँ हो । ठेकेदार कम्पनी ग्रान्ड डिजाइन कन्स्ट्रक्सन (नेपालगन्ज) ले स्थानीय ठेकेदार गणेश भुसालको समन्वयमा काम गर्दैछ । अस्पताल प्रशासनका अनुसार हालसम्म करिब १६ प्रतिशत काम सम्पन्न भएको छ ।
भवनको डिजाइन भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री तथा बालमैत्री बनाइएको छ। लिफ्ट, अन्डरग्राउन्ड पार्किङ, सिटी स्क्यान, डायलाइसिस, आइसीयू, एनआइसीयू र भेन्टिलेटर जस्ता सेवा यसमा समावेश हुने मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले जानकारी दिए । अर्यालका अनुसार, अस्पतालको पुराना टहरा भत्काइसकेपछि सेवा सञ्चालनमा चुनौतीहरू आइरहेका छन् । बिरामीको चाप बढिरहेको छ, तर पूर्वाधार अभावले चिकित्सक र स्वास्थ्यकर्मीहरू समेत समस्यामा छन ।
सम्झौता अनुसार, भवन निर्माण २०८३ जेठ ६ गतेभित्र सम्पन्न गर्नुपर्ने भएपनि हालको प्रगति हेर्दा तोकिएको समयसीमा भित्र सकिनेमा नागरिकहरुले आशंका व्यक्त गरेका छन । निर्माणधिन उक्त भवनलाई लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पनि उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।