गुल्मी : गलाभरी पहेँलपुर जमराको माला । सवैको एउटै पोशाक । गोलबन्द बनेर उभिएका यूवाहरु । दुवै हातमा लठ्ठी र बाँजाको तालमा सरायँमा नाँचेका ती यूवाहरुले साँच्चिकै यसपालीको दशैँमा गाउँमा बेग्लै उत्साह थपियो ।
त्यसो त हरेक वर्ष विजयादशमीमा कोजागत पूर्णिमाको दिन मदाने गाउँपालिका मदाने गाउँपालिका–१ अग्लुङ गुल्मीमा सरायँ नाँच हुने गर्छ । तर, विगतको तुलनामा यसवर्ष सरायँमा बेग्लै उमंग र उत्साह थपियो । गाउँमा जुटेका सवै यूवाहरु सरायँमा सहभागी भए ।
5
स्थानीय समाजसेवी हुम बहादुर मल्लका अनुसार गाउँमा सरायँ नाँच विस्तारै हराउँदै जान थालेको थियो । लोपोन्मुख हुँदै जान थालेको सरायँको संरक्षण र प्रवद्र्धनमा यसपाली विशेष योजना बनाएर गाउँमा प्रदर्शन गरिएको मल्लको भनाई छ । उनकै विशेष पहलमा सरायँमा यूवा जनशक्ति जुटेका हुन् ।
सरायँ नाँच अग्लुङको पहिचान समेत हो । रोजगारी देखि काम विशेषले गाउँ छाडेका यूवाहरु दशै मनाउन गाउँ आएको बेला यूवाहरुलाई संगठित गराएर सरायँको प्रदर्शन भएको स्थानीय नारायण घर्तीले जानकारी गराए ।
गाउँमा यूवा जनशक्तिको कमी हुँदै जान थालेपछि सरायँ नाँचप्रति स्थानीयको आकर्षण विस्तारै कमी हुँदै गएकोप्रति स्थानीयबासी चिन्तित समेत थिए । मेला व्यवस्थापन समितिका अध्यक्ष भगतचन्दले सरायँलाई आगामी वर्षमा अझ व्यवस्थित र संरक्षण गर्दै जाने बताए ।