प्यूठान : अस्तव्यस्त विकासले बाग्दुला बजारमा विनाश निम्त्याएको छ । लगातार परेको वर्षातले बाढी आएपछि प्यूठान नगरपालिका–८ उपल्लो बाग्दुला बजार डुबानमा परेको हो । मध्यरातमा बाग्दुला खोला उर्लेर आउँदा यहाँका सात वटा पसलमा भल पस्यो र लाखौंको क्षति भएको छ ।
यहि वर्ष टीकुरि–माझकोट ग्रामीण मोटरबाटो फराकिले पारिएको थियो भने दुई वर्ष अघि प्यूठान नगरपालिका वडा नं ६ मा गिठेचौरदेखि थपकोट जोड्ने मोटरबाटो खनिएको थियो । वातावरणीय प्रभाव मूल्यांकन नगरी सडक खन्दा बिनास निम्तिएको बाग्दुलाका स्थानीय ओमभक्त पण्डितले प्रतिक्रिया दिए ।
‘आगोलागीले वन पनि सखाप भयो, बाटो खन्ने काम पनि संगै भयो’,पण्डितले भने, ‘जथाभावी विकास गर्दा विनास निम्तिएको हो। ’ पानी पनि बढि परेको कारण यो वर्ष अलि धेरै प्रभाव परेको उनको बुझाई छ । बजार क्षेत्रमा रहेको खोलामा आरसीसी ढलान गर्दा उचित ध्यान नपु¥याइएको स्थानीय घनश्याम कक्षपतिले बताए । ‘स्लोप नमिलाउँदा खोलाको बाढी तल बजारमा झरेको पाइएको छ’, कक्षपतिले भने,‘पहिलोपटक घरमा भल पसेको हो ।’ बजार क्षेत्रको कालोपत्रे सडक निर्माण र खोलामा आरसीसी ढलान गर्दा प्राविधिकहरु चुकेको उनको भनाई छ ।
सघन शहरी विकास तथा भवन निर्माण आयोजना दाङका प्रमुख खड्ग चौधरीले स्थानीयहरुको माग तथा चाहना बमोजिम खोलामा आरसीसी ढलानको काम भएको जिकिर गरे । ‘स्थानीयहरूलाई राखेर काम गरेका हौं’, चौधरीले भने, ‘स्थानीयहरूले जस्तो जस्तो भन्नु भयो, त्यस्तै त्यस्तै गराइदिएको हो ।’
बजारमा खोला पस्दा कपडा फेन्सीको व्यापार गरि बस्ने सम्सुल हक मियाँको करिब १० लाख रुपैयाँ बराबरको काँचो तथा फेन्सी कपडा नष्ट भएको छ । जीवन विकको पसलमा ६ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको छ । मधुसुदन पण्डितको एग्रोभेट तथा दाना पसलमा ५ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको छ भने खेमराज सुवेदीको पुस्तक पसलमा ४ लाख रुपैयाँ बराबरको पुस्तक नष्ट भएको स्थानीयले बताए ।
ग्यासुदिन मियाँ, चिराकदिन मियाँ र अजमत अलिको २÷२ लाख रुपैयाँ बराबरको फेन्सी कपडा नष्ट भएको छ । घनश्याम कक्षपतीको किराना पसलमा डेढ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा किराना सामानमा क्षति पुर्याएको छ ।
बजारमा बाढी पस्दा समयमै स्थानीय सरकार प्रहरी प्रशासनबाट मद्धत नभएको र हालसम्म क्षतिको मूल्यांकन तथा राहत दिने तर्फ नगरपालिकाले कुनै चासो नराखेको पीडितहरुको गुनासो छ । बाढीबाट कुल ३२ लाख ५० हजार बराबरको क्षति भएको पीडितहरुले बताएका छन् ।
बाग्दुला बजार क्षेत्रलाई सुरक्षित राख्न प्यूठान नगरपालिका सदैव तत्पर रहेको उपप्रमुख देबेन्द्र वर्माले बताए । ‘कहाँ कसरी यो समस्या सिर्जित भयो स्थानीय स्तरबाटै अवलोकन हुनुपर्यो’, वर्माले भने, ‘स्थानीयहरुको सल्लाह तथा सुझावका आधारमा हामी योजना बनाएर अघि बढ्न हरदम तयार छौं ।’