माण्डवी (प्यूठान) : सडक निर्माण गर्दा माण्डवी गाउँपालिकाको ब्याकहो लाडेरले किचेर माण्डवी–१, देवीस्थानडाँडाका ६४ वर्षीय ठग बहादुर घर्तीको २०८० माघ २८ गते मृत्यु भयो । गाउँपालिकाकै योजना अन्तर्गत सडक निर्माण भइरहेको सडकमा बसीरहेका उनलाई लोडेरले किचेको थियो ।
त्यसबेला पीडितपक्ष र गाउँपालिकाबीच सहमती भयो मृतकका परिवारलाई बीमा बापत ५ लाख र थप ५ लाख गाउँपालिकाको कार्यालयले दिने भनेर । तत्कालै ५० हजार पछि बुझ्ने १० लाखबाटै घट्ने गरी काजकिरिया स्वरुप दिने समेत लिखित निर्णय भयो । तर, झण्डै डेढ वर्ष वितिसक्दा समेत पीडित परिवारले लिखित सहमती अनुसारको राहत रकम पाएका छैनन् ।

उनीहरु अहिले रातदिन सहमती अनुसारको रकमको माग गर्दै दिनहुँ गाउँपालिका धाइरहेका छन् । तर, गाउँपालिकाले उनीहरुको माग सुनुवाई गरेको छैन् । परिवारको सदस्यको मृत्युले पीडामा छट्पटाइरहेका घर्ती परिवारलाई गाउँपालिकाले राहत दिनुको साटो ‘आहत’ थपिदिएको छ । पीडितको घाउँमा गाउँपालिकाले बेइमानी गरेको आरोप छ ।
बीमा वापत पाउनुपर्ने पाँचलाख बाहेक अन्य रकम गाउँपालिकाट नपाएको पीडित परिवारको गुनासो छ । घटना घटेलगत्तै पीडितको आक्रोशलाई साम्य पार्नका लागि गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, १ नम्वरका वडाअध्यक्षको रोहवरमा पीडितलाई राहत दिने लिखित निर्णय गरिएको छ । निर्णयको उपस्थितीमा गाउँपालिकाका कर्मचारी र सरोकारवाला प्रतिनिधिहरूको समेत हस्ताक्षर छ ।
मृतकका छोरा धन बहादुर घर्तीले लिखित रुपमा गरेको निर्णय अनुसारको रकम लिनपनि यतिधेरै दुःख गर्नुपरेको दुःखेसो पोखे । घर्ती भन्छन्,‘सार्वजनिकरूपमा निर्णय भइसकेको छ, तर डेढ वर्ष भइसक्दा पनि गाउँपालिकाले दिने क्षतिपूर्ति रकम दिएन । आफ्नै कार्यालयको ब्याकहो लाडेरले किचेको छ, तर हाम्रो पीडाप्रति पालिका कत्तिपनि संवेदनशिल देखिएन ।’ स्थानीयवासीहरू समेत गाउँपालिकाको यस्तो ढिलासुस्ती र लापरवाहीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् ।
गाउँकै विकास निर्माण योजनाका क्रममा भएको दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई अझै पनि क्षतिपूर्तिको प्रतीक्षामा बस्नुपर्ने अवस्था हुनु, राज्य र स्थानीय तहका जिम्मेवार व्यक्तिहरूको उत्तरदायित्वप्रति बेवास्ता भएको स्थानीय अगुवा एवं व्यवसायी रामचन्द्र पौडेलले प्रतिक्रिया दिए ।
तर, कार्यपालिकाको बैठकमा पीडित परिवारलाई सम्झौता बमोजिमको ५ लाख रुपैयाँ राहत रकम दिनुपर्ने प्रस्ताव लगेपनि निर्णय हुन नसकेको गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले प्रतिक्रिया दिएका छन् । नीतिगत रुपमा पीडित परिवारलाई सम्झौता बमोजिमको रकम दिन नसकिने भन्दै गाउँपालिका अहिले तर्सिएको छ ।
आफ्नै कार्यालयको ब्याकहो लोडरले किचेर आफ्नै पालिकाको नागरिकको मृत्यु हुँदा समेत गाउँपालिकाले गरेको बेइमानी र गैरजिम्मेवार निर्णयले सवैलाई लज्जित बनाएको नागरिक समाजका अगुवाहरुले प्रतिक्रिया दिएका छन् । न्यायीक समितिको जिम्मेवारीका हिसाबले गाउँपालिका उपाध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेपनि गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन) यस घटनामा बेखवर बन्न नमिल्ने गाउँपालिकासबासीले प्रतिक्रिया दिएका छन् ।