बुटवल : लुम्बिनी प्रदेशका विकासे मन्त्रालयहरुमध्ये आर्थिक वर्ष २०८१÷०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्नेमा शहरी विकास तथा खानेपानी मन्त्रालय बनेको छ । उक्त मन्त्रालयले सवैभन्दा धेरै ८४ दशमलव ५५ प्रतिशत विकास बजेट खर्च गरेर उत्कृष्ट बनेको हो । कुल ५ अर्ब १५ करोड ५५ हजार रुपैयाँ बजेट पूूँजीगत तर्फ विनियोजन भएकोमा ४ अर्ब ३९ करोड ८१ लाख ८४ हजार ४ सय २५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ ।
विनियोजित योजनालाई दिगो र परिणामुखी बनाउने गरी कार्यसम्पादनमा विशेष जोड दिइएको शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले प्रतिक्रिया दिए । ‘आर्थिक वर्ष २०८१÷०८२ मा कुल १ सय ३६ वटा आयोजनाहरु सम्पन्न भएका छन्’,राणाले भने,‘प्रदेशका १२ वटै जिल्लामा खानेपानीको गुणस्तर सुधारलाई विशेष जोड दिएर काम गरेका छौं ।’
मन्त्री राणाले मन्त्रालयमा कार्यरत कर्मचारीहरुबीच साथीभाईको व्यवहार गरेर काम गर्ने गरेकाले उत्कृष्ट कार्यसम्पादनमा सहजता मिलेको अनूभव सुनाए । ‘मन्त्री एउटा जिम्मेवारी र पद हो’,राणाले भने,‘तर, सवैको अन्तिम उद्देश्य जनताको सेवा गर्नु हो । तसर्थः हामीले टिमवर्कमै नतिजामुखी काम गरेका छौं ।’ चालु आर्थिक वर्षमा पानीको सुद्दीकरण गर्ने कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अघि बढाउने मन्त्रालयको योजना रहेको मन्त्री राणाले बताए ।
सुद्दीकरणका लागि चालु आवमा १० करोड रुपैयाँ बजेट विनियोजन भएको समेत उनले सुनाए । ‘अहिले १२ वटै जिल्लामा मन्त्रालय मातहतका कार्यालय स्थापना भएका छन्’,राणाले भने,‘अघिल्लो वर्षमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रोल्पा र बर्दियामा कार्यालय स्थापना ग¥यौं । त्यसले पनि मन्त्रालयको समग्र प्रगती हासिल गर्न सघाउ पुग्यो ।’
मन्त्रालयका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर गुणनिधी पोख्रेलले संघीय सरकारले हस्तान्तरण गरेका शसर्त अनुदान तर्फका ३१ वटा ठूला आयोजनाहरु सम्पन्न भएको जानकारी गराए । अघिल्लो आर्थिक वर्षमा ६ वटा आयोजनाहरुमा पानीको गुणस्तर सुधारको काम सकिएको पोख्रेलले बताए । ती आयोजनाबाट कुल ९ हजार ५ सय ७३ घरधुरी प्रत्यक्ष लाभांवित भएका छन् ।
प्रदेशभर कुल ८६ प्रतिशत घरधुरीमा आधारभूत तहको खानेपानीको पहुँच पुगेको उनले बताए । कपिलवस्तुको चार नम्वरमा प्रदेश स्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको पोख्रेलले सुनाए । उक्त प्रयोगशालामा हालसम्म कुल ६ सय २० वटा नमुनाहरु संकलन गरेर पानीको परीक्षण गरिसकिएको छ । चालु आर्थिक वर्षमा यस मन्त्रालयको बजेट कुल ५ अर्ब ६२ करोड छ ।
लुम्बिनीमा भौतिक पूर्वाधार विकास निर्माणतर्फ सवैभन्दा धेरै बजेट भएको मन्त्राल भौतिक पूर्वाधार विकास मन्त्रालय हो । यो मन्त्रालयले गत आर्थिक वर्ष ६६ दशमलव ९३ प्रतिशत मात्र वित्तिय प्रगती हासिल गरेको छ । यसको पूँजीगत बजेट मात्रै १० अर्ब ३६ करोड छ । त्यस्तै, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले ७७ दशमलव ७ प्रतिशत मात्र विकास बजेट खर्च गरेको छ । यसको विकास बजेट ३ अर्ब ११ करोड थियो । मन्त्री थापा प्यूठान १(२) बाट निर्वाचित सांसद् हुन् ।