बुटवल : लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये सडक कालोपत्रे गर्ने र पक्कीपुल बनाउने अग्रणी जिल्लाको रुपमा रुपन्देही भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१÷०८२ मा गरेको प्रगती विवरण सार्वजनिक तथ्यांक अनुसार सडक पूर्वाधार विकास कार्यालय बुटवल रुपन्देहीले एक आर्थिक वर्षमा मात्रै ४५ दशमलव १९ किलोमिटर सडक कालोपत्रे गरेको छ । यो समग्र लुम्विनी प्रदेशको २५ दशमलव ६७ प्रतिशत हिस्सा हो । लुम्विनी प्रदेश सरकारले प्रदेशभरी कुल १ सय ७२ दशमलव २९ किमी सडक कालोपत्रे गरेको छ ।
त्यस्तै, प्रदेशभरी कुल ४४ वटा पक्कीपुल निर्माण भएका छन् । तर, रुपन्देहीले मात्रै ११ वटा पक्कीपुल गत आर्थिक वर्षमा सम्पन्न गरेको छ । पुलतर्फ रुपन्देहीले मात्र २५ प्रतिशत प्रगती हासिल गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल वित्तिय प्रगती ६७ दशमलव २५ प्रतिशत छ । समग्र मन्त्रालयकै प्रगतीको ठूलो हिस्सा रुपन्देहीले ओगटेको छ । रुपन्देहीले वृहत लुम्बिनी चक्रपथ (पर्सा–पडरिया खण्ड)को तेलहार खोला र तिनाउ खोलास्थित बेलबास–बेथरी–खैराघाट–सडकमा जोडी पुल निर्माण गरेकाले पुल सम्पन्नको संख्या १३ पुगेको छ । यद्यपी, मन्त्रालयको तथ्यांकमा सम्पन्न पुलको संख्या ११ छ ।
‘जोडी पुललाई एउटै पुलको रुपमा तथ्यांक राख्दा संख्या ११ भएको हो’,सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीले भने,‘खास तथ्यांक १३ हो । क्रमागत रुपमा काम हुँदै आउदा आर्थिक वर्ष २०८१÷०८२ मा पुल निर्माण सकिएका हुन् ।’ उनका अनुसार चालु आर्थिक वर्षमा चार वटा पक्की पुल निर्माण सक्ने योजना छ । कार्यालयले गत आवमा विनियोजित बजेटको ७१ दशमलव १५ प्रतिशत पूँजीगत र ७८ दशमलव ३२ प्रतिशत चालु खर्च गरेको सिडिई गिरीले जानकारी दिए ।
सडक पूर्वाधार विकास कार्यालय बर्दियाले ५ वटा पक्कीपुल निर्माण गरेको छ । त्यस्तै, बाँके, पाल्पा र कपिलवस्तुले चार÷चार वटा, दाङ र रोल्पाले तीन÷तीन वटा, गुल्मी र प्यूठानले दुई÷दुई वटा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पूर्वी रुकुमले एक÷एक वटा पक्कीपुल निर्माण गरेका छन् । मन्त्रालयको तथ्यांक अनुसार अर्घाखाँचीले एउटा पनि पुल निर्माण गरेको छैन् ।
त्यस्तै, नवलपरासी (पश्चिम) ले गत आर्थिक वर्ष १२ दशमलव १८ किमी, कपिलवस्तुले १९ दशमलव १३, पाल्पाले १ दशमलव ३४, गुल्मीले १४ दशमलव ६६ किमी सडक कालोपत्रे गरेका छन् । त्यस्तै, अर्घाखाँचीले २७ दशमलव ६३ किमी, दाङले १० दशमलव ८३, प्यूठानले ९ दशमलव १८, रोल्पाले ४ दशमलव ८८, बाँकेले १७ दशमलव ४९ र बर्दियाले १३ दशमलव ५० किमी सडक कालोपत्रे गरेका छन् ।
पूर्वी रुकुमले गत आर्थिक वर्ष कत्तिपनि सडक कालोपत्रे गर्न सकेन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वित्तिय प्रगती न्यून हुनुमा वहुवर्षिय योजना स्वीकृत गर्न ढिलाई हुनु मुख्य कारण बनेको सम्वन्धित सडक पूर्वाधार विकास कार्यालयका प्रमुखहरुले प्रतिक्रिया दिएका छन् । करिव २० प्रतिशत रकम बहुवर्षिय योजनामा थियो ।