प्यूठान : झिमरुक गाउँपालिका–१ वडाचौर प्यूठानका शंकर पोख्रेल वडा सदस्य हुन् । दिउँसभर जनताको काममा व्यस्त हुन्छन् । वडा कार्यालयदेखि गाउँपालिका कार्यालयसम्म आउजाउ गर्दा समय वित्छ । नागरिकका पीडा बुझ्न घरघरै पुग्छन् । उनको वडा छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीसँग जोडिएको वडा हो । विहान बेलुका बाहेकको समय पोख्रेललाई बारीमा लगाएका ड्रागनको हेरचाह गर्न भ्याइनभ्याई हुन्छ । अहिले बारीमा चारसय ड्रागनका बोटहरु छन् । २०७८ सालको कोरोनामा भएको लकडाउनको बेला शुरु गरेको उनको यो व्यवासायीक खेतीले अहिले फराकिलो बाटो समाएको छ । यसैमा उनले देख्नुसम्मको भविष्य देखेका छन् ।
‘गर्नसके गाउँमै राम्रो संभावना हुँदोरहेछ’,पोख्रेल भन्छन्,‘हाम्रो गाउँ १ हजार ४ सय मिटर उचाईमा छ । गाउँमै ड्रागन खेती गर्ने म पहिलो व्यक्ति हुँ । हुँदैन् की भन्ने डर थियो । गर्दैजाँदा राम्रो नतिजा आयो ।’ उनी यो खेतीलाई यत्तिकैमा राख्ने सोँचमा छैनन् । यसैवर्ष चार हजार विरुवा थप्ने योजना बनाएका छन् । प्यूठानकै सरुमारानी गाउँपालिकाको दरभानबाट विरुवा लिएर उनले गाउँमा ड्रागन खेती थालेका हुन् । उनकी श्रीमती ३७ वर्षिय माया पन्थी गाउँकै बालुवा अमंर प्राविकी प्रधानाध्यापक हुन् ।
श्रीमती स्थायी शिक्षक आफू जनप्रतिनिधी भएकाले दिउँसभर काम गर्न समयले त्यति साथ दिदैन् । तर, विहान र बेलुकाको समय उनीहरुलाई ड्रागनका विरुवाहरुको हेरचाह गर्न भ्याईनभ्याई हुन्छ । विहान बेलुकाको कामले पनि राम्रै प्रतिफल दिएको पोख्रेलले सुनाए । ड्रागन नलगाउँदा हलेदो र अदुवा खेती गरेको बताउँदै उनले अहिले यसैबाट लाखौँ आम्दानी गर्न सकिएको समेत अनुभव बताए । ‘शुरुमा तीन लाख रुपैयाँको लगानीबाट खेती शुरु गरेको हुँ’,उनी भन्छन्,‘यसैवर्ष मात्र तीन लाख रुपैयाँ जति आम्दानी भयो ।’
अदुवा र हलेदो खेती गरेर पनि पोख्रेल दम्पतीले वार्षिक एक÷डेढ लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका थिए । तर, त्यसले भन्दा ड्रागनले उनीहरुलाई सोँचेभन्दा पनि राम्रो प्रतिफल दिइरहेको छ । ४० वर्षिय पोख्रेलको यो सफलताले गाउँका अरु युवाहरुलाई हौसला दिएको छ । मेहनत गर्नसके गाउँमै राम्रो संभावना छ भन्ने कुराको उनी उदाहरणीय पात्र बनेका छन् । रातो सि भेराइटिको ड्रागन उत्पादन हुनमात्र पर्छ, बजारको समस्या पर्दैन् । जिल्लाको प्रमुख बजार बाग्दुला, छिमेकी जिल्ला गुल्मीको पुर्कोटदह, अर्घाखाँची सन्धिखर्क सहित बुटवलमा विक्रीका लागि पठाउँछन् । गाउँबाटै ती शहरमा गाडी जान्छन् । ड्रागन फूलेको करिव ४० दिनमा खान तयार हुने पोख्रेलले बताए । प्रति किलो ३ सय ५० रुपैयाँमा उनले विक्री गर्छन् ।